• १८ चैत २०८२, बुधबार

स्नातक तहको शुल्क गाउँपालिकाले तिरिदिने

blog

छात्रवृत्ति कार्यक्रम कार्यान्वयन गर्न गरिएको सम्झौता आदानप्रदान गरिँदै । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, चैत १८ गते ।
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले उच्च शिक्षा (स्नातक तह) अध्ययन गर्ने विद्यार्थीको शुल्क तिरिदिने भएको छ । पालिकाभित्रका स्नातक तह अध्ययन गर्दै विद्यार्थीको क्याम्पसलाई बुझाउनुपर्ने शुल्क गाउँपालिकाले तिरिदिने भएको हो ।
मेरिङ्देन गाउँपालिकाले ‘स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम’ मार्फत स्नातक हत अध्ययन गर्दै आएको विद्यार्थीको क्याम्पस शुल्क तिरिदिने भएको हो । मेरिङ्देन गाउँपालिकाभित्र स्थायी ठेगाना भई जिल्लाकै पाथीभरा बहुमुखी क्याम्पसमा स्नातक तह अध्ययन गर्ने विद्यार्थीको शुल्क गाउँपालिकाले तिर्ने भएको हो ।
स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीको शुल्क तिरिदिने भएसँगै छात्रवृत्ति कार्यक्रम कार्यान्वयन गर्न गाउँपालिका र पाथीभरा बहुमुखी क्याम्पसबिच बुधबार बिहान सम्झौता भएको छ । शैक्षिकस्तर अभिवृद्धि गर्ने गाउँपालिकाको योजनाअनुसार छात्रवृत्ति कार्यक्रममार्फत स्नातक तह अध्ययन गर्ने विद्यार्थीको शुल्क तिरिदिने गरी गाउँपालिका र क्याम्पसबिच सम्झौता भएको हो ।
द्विपक्षीय सभ्झौता पत्रमा मेरिङ्देन गाउँपालिकाका तर्फबाट अध्यक्ष युकहाङबिर हाङ्गाम (डम्बर) र निमित्त प्रमुख प्रशासकीय अधिकृत उदयकुमार यादवले हस्ताक्षर गर्नुभएको छ । त्यस्तै क्याम्पसका तर्फबाट पाथीभरा बहुमुखी क्याम्पस व्यवस्थापन समिति अध्यक्ष शिला इजम र क्याम्पस प्रमुख सजन पौडेलले हस्ताक्षर गर्नुभएको छ ।
छात्रवृत्ति कार्यक्रम कार्यान्वयन सम्झौताअनुसार चालु आर्थिक वर्षमा स्नातक तहको सबै सङ्काय र सबै वर्ष (सेमेस्टार) मा अध्ययन गर्ने विद्यार्थीको शुल्का गाउँपालिकाले तिर्ने छ । क्याम्पसले उपलब्ध गराएको विवरणका आधारमा स्नातक तह अध्ययन गर्दा लाग्ने शुल्क गाउँपालिकाले एकमुष्ट भुक्तानी दिने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।