सिराज खान
नेपालगन्ज, चैत १८ गते । पश्चिम नेपालको प्रमुख नाकामध्ये एक नेपालगन्ज नाकाबाट गत आठ महिनामा ४६ करोडभन्दा बढी मूल्यको जडिबुटी निर्यात भएको छ।
नेपालगन्ज भन्सार कार्यालयका अनुसार, यो नाकाबाट हरेक वर्ष निर्यातमा वृद्धि भइरहेको छ। भन्सार कार्यालयका सूचना अधिकारी पवित्र कुमार खड्काले जानकारी दिनुभयो कि चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि फागुन मसान्तसम्म १४ लाख २० हजार २९० किलो विभिन्न प्रकारका जडिबुटी ४६ करोड १३ लाख ५ हजार रुपियाँमा निर्यात गरिएको छ।
यस वर्ष नेपालगन्ज नाकाबाट सल्लाको आँखला पनि पहिलो पटक निर्यात सुरु भएको छ। सो अवधिमा ३९ हजार ६४९ मेट्रिक टन सल्लाको आँखला १९ लाख ३९ हजार रुपियाँ मूल्यमा निर्यात भएको छ। जडिबुटी व्यवसायी संघ बाँकेका अनुसार, सल्लाको आँखलामा १०० प्रतिशत कर लगाइएकाले निर्यात कम भएको हो। संघका अध्यक्ष टंक प्रसाद शर्माले निकासी कर घटाइएमा निर्यात धेरै बढ्ने बताउनुभयो।
भारततर्फ निर्यात हुने जडिबुटीमा टिमुर, काउलो, सतुवा, बोझो, दालचिनी, अमला सबैभन्दा बढी रहेको छ। अध्यक्ष शर्माका अनुसार नेपालबाट निर्यात हुने जडिबुटीको करिब ८५ प्रतिशत भारततर्फ जान्छ।