ललितपुर,चैत १७ गते । ललितपुर महानगरपालिकाको लगनखेलस्थित पाटन मानसिक अस्पताल अगाडिको सडकपेटीमा हिँडिरहेका ज्येष्ठ नागरिकमाथि अभद्र व्यवहार गरेको आरोपमा युवा संघका ललितपुर जिल्ला अध्यक्ष पक्राउ परेका छन् ।
ज्येष्ठ नागरिकलाई दुःख दिएको र मर्यादित व्यवहार गरेको उजुरीका आधारमा ललितपुरको गोदावरी नगरपालिका वडा नं. १० टाखेल बस्ने ३० वर्षीय रामशरण शर्मा बजगाईँ (आरबी शर्मा) पक्राउ पर्नुभएको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार पक्राउ पर्नुभएका बजगाईँमाथि थप अनुसन्धान भइरहेको छ । नागरिकलाई दुःख दिने र कानुनविपरीतका कार्य गर्ने जोकोहीलाई पनि कानुनी दायरामा ल्याइने गृहमन्त्री सुधन गुरुङले जानकारी दिनुभयो ।
नागरिकको सुरक्षा र सम्मानका लागि सरकार तथा सुरक्षा निकाय सचेत रहेको भन्दै कानुनभन्दा माथि कोही नहुने गृहमन्त्री गुरुङको भनाइ छ ।
गृहमन्त्री गुरुङले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘हरेक नागरिकलाई कसैले दुःख दिएको छ कि छैन भनेर सरकारले नजिकबाट नियालिरहेको छ। कृपया ध्यान दिनुहोला, कानुनभन्दा माथि कोही पनि छैन।’