• १७ चैत २०८२, मङ्गलबार

कांग्रेस संसदीय दलको बैठक

बागमती प्रदेश सभाको प्रदेश सभामुख दावी गर्ने निर्णय

blog

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको मङ्गलबार बसेको बैठक ।

राममणि दाहाल

मकवानपुर, चैत १७ गते । नेपाली कांग्रेसले बागमती प्रदेशको प्रदेश सभामुखमा दावी गर्ने भएको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको मङ्गलबार बसेको बैठकले रिक्त प्रदेश सभामुखमा दावी गर्ने निर्णय गरेको हो । 

तत्कालीन प्रदेश समाभुख भुवनकुमार पाठकले पदबाट गत असोजमा राजीनामा दिएपछि साढे छ महिनादेखि प्रदेश सभामुख रिक्त रहेको छ । 

सभामुखमा सत्तारुढ दलका कांग्रेससँगै एमालेले दावी गरेपछि अझै सहमती जुट्न सकेको छैन । 

प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रदेश सभामुखका बारेमा कांग्रेसको दावीसँगै सत्तारुढ दलसँग छलफल गरेर टुङ्गो लगाउने निर्णय भएको जानकारी दिनुभयो । 

कांग्रेस संसदीय दलको बैठकले एक साताभित्र प्रदेश सभाको अधिवेशन आव्हान गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । 

बैठकले प्रदेश सरकारले गठन गरेको उच्चस्तरीय प्रशासनिक पुनःसंरचना समितिले बुझाएको प्रतिवेदनमा हाल रहेको १३ वटा मन्त्रालयलाई सात मन्त्रालयमा सीमित राख्ने र सात वटा निर्देशनालयलाई दुई वटामा सीमित राखी पाँच वटा खारेज गर्न सिफारिश गरेकोमा सत्ता साझेदार दलसँग छलफल गरी आवश्यक संशोधनसहित कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । 

कांग्रेसभित्रको आन्तरिक समस्यालाई आपसी सहमति र संवादमार्फत छिट्टै समाधानतर्फ अगाडि बढाई पार्टीको १५ औँ महाधिवेशनलाई एकताको महाधिवेशनको रुपमा सन्देश दिन दुवै पक्षलाई आग्रह गर्ने बैठकले निर्णय गरेको तामाङले बताउनुभयो । 

कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुुर बानियाँको अध्यक्षतामा काठमाडौँमा बसेको बैठकले कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचितसह–महामन्त्री बहादुरसिंह लामाज्यूलाई बधाई तथा शुभकामना व्यक्त गर्ने निर्णय गरेको छ । 

यस्तै बागमती प्रदेशका खानेपानी उर्जा तथा सिञ्चाईमन्त्री कृष्णकुमार तामाङका पुजनीय पिता श्रीमान तामाङ, पूर्वमन्त्री तीर्थ लामाका पिता केशरबहादुर तामाङ र प्रदेशसभा सदस्य लक्ष्मी श्रेष्ठकी पति रामेश्वर श्रेष्ठको निधनप्रति  श्रद्धाञ्जली साथै परिवारजनमा समवेदना प्रकट गर्ने बैठकले निर्णय गरेको छ ।