रानी समाचारदाता
रानी, चैत १७ गते । लागुऔषध सेवन (लापसे) गरेर सवारीसाधन चलाउने ११ जना चालकलाई प्रहरीले मंगलबार विराटनगरबाट पक्राउ गरेको छ। पक्राउ परेकामध्ये १० जना सीटी सफारी चालक र एक जना मोटरसाइकल चालक रहेका छन् ।
विराटनगर महानगरपालिका–१५ हुलास चोकस्थित सामुदायिक प्रहरी सेवा केन्द्र परिसरमा नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले सघन चेकजाँच गर्दा चालकहरूले लागुऔषध सेवन गरेर सवारी चलाएको फेला परेको हो ।
सडक सुरक्षा सुदृढ गर्ने, दुर्घटना न्यूनीकरण गर्ने र ट्राफिक अनुशासन कायम गर्ने उद्देश्यले गरिएको विशेष अभियानअन्तर्गत परीक्षण गर्दा ११ जनाको रिपोर्ट ‘पोजिटिभ’ आएको ट्राफिक प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा विराटनगरका विभिन्न वडाका साथै मोरङको कटहरी गाउँपालिका र सुनसरीको इटहरी उपमहानगरपालिकाका चालकहरू रहेका छन् ।
चेकजाँच अभियानमा कोशी प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी दीपक गिरी, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका डीएसपी सन्तोष श्रेष्ठ, मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेलगायतका अधिकारीहरू खटिनुभएको थियो ।
ट्राफिक प्रहरीका अनुसार प्रारम्भिक परीक्षणमै पोजिटिभ देखिएपछि चालकहरूलाई सवारीसाधनसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान अघि बढाइएको छ ।