• १७ चैत २०८२, मङ्गलबार

पाशुपतक्षेत्रको जगेर्ना

blog

भगवान् श्री पशुपतिनाथ पुराणमा वर्णित समस्त ज्योर्तिलिङ्गको शिरका रूपमा प्रसिद्ध हुनुहुन्छ, शिरोभागस्वरूपेण शिवलिङ्ग तदस्ति हि (शिवमहापुराण, शतरुद्रसंहिता, ११।१९) । पुराणोक्त द्वादश(१२) ज्योतिर्लिङ्गहरूमा पशुपतिको गणना नभए पनि शिरोभागको रूपमा महिमा भने सबैभन्दा बढी छ । पशुपतिनाथको सर्वोच्चता यसबाट पनि सिद्ध हुन्छ कि– ज्योतिर्लिङ्गेश्वरलगायत चौँसट्ठी लिङ्गहरू यसका अङ्गका रूपमा रहेका छन् । यी ६४ सिद्धलिङ्गहरू ६४ कला, ६४ योगिनी, ६४ तन्त्र र संस्कृत व्याकरणका ६४ वर्णसँग पनि सम्बद्ध छन् । यस्ता रहस्यमय सिद्धलिङ्गद्वारा परिवेष्टित भगवान् श्री पशुपतिनाथ सामान्य ज्योतिर्लिङ्ग मात्र नभई महाज्योतिर्लिङ्ग हुनुहुन्छ । अनुभवी योगीहरूका अनुसार पाशुपतक्षेत्रको ऊर्जा तरङ्गले आध्यात्मिकताको सर्वोच्च स्थान सहस्रारचक्रलाई स्पन्दित बनाउँछ । समस्त तन्त्रशास्त्रका प्रवर्तक, किराँत, जैन, बौद्ध जस्ता विविध परम्परामा समेत अनेकौँ नामले उपास्य भगवान् श्री पशुपतिनाथ नेपालको राष्ट्रदेवका रूपमा रहनु विश्वभरका नेपालीका लागि सबैभन्दा ठुलो गौरवको विषय हो । पाशुपतक्षेत्र संसारभरिकै वैदिक सनातन धर्मावलम्बीका लागि सबैभन्दा प्रमुख तीर्थस्थल हो । जगद्गुरु शङ्खराचार्यद्वारा निर्दिष्ट पूजा पद्धति अनुसार शिवलिङ्गका शिरमा श्रीचक्रको समेत स्थापना गरी शिव र शक्तिको युगल उपासना हुने एक मात्र सिद्धपीठ पाशुपतक्षेत्र हो । श्रीविद्या र पाशुपत मन्त्रको दीक्षाग्रहण गरेका सद्गृहस्थ वैदिक विप्रहरूद्वारा मात्र गर्भगृहमा प्रवेश गरी उपासना गरिने यो सिद्धपीठ वैदिक र तान्त्रिक परम्पराको अद्वितीय सङ्गम पनि हो । जैनहरूका आदिनाथ, बौद्धका पञ्चबुद्ध, किराँतीहरूका पारुहाङ (किराँतेश्वर) र नाथहरूका गोरखनाथ आदि परम्परा पनि श्री पशुपतिनाथसँग सम्बद्ध देखिन्छन् । 

प्राकट्य र महिमा

भगवान् शिव पशुपतिका रूपमा प्रकट भएको सन्दर्भमा पुराणहरूमा विशिष्ट चर्चा गरिएको छ । कैलाश र काशी जस्ता स्थानलाई पनि छाडेर भगवान् शिव पशु (मृग) को रूप धारण गरेर यहाँका गिरिकन्दरामा दौडँदै, कान्लाहरूमा सिँगौरी खेल्दै रमाएर बसिरहनुभएको थियो । ब्रह्मा, विष्णु र देवराज इन्द्रले सबैतिर खोजी गरिरहँदा सिद्धाचल (गुह्येश्वरीक्षेत्र) मा भेटिएकी बालिका (पार्वती) ले सङ्केत गरेपछि एकसिङे अनौठो मृगका रूपमा शिव भेटिनुभयो । सिङमा समाती पक्रिन खोज्दा ती तीन देवताहरूको हातमा सिङको तीन टुक्रा मात्र हात लागेको तथा मृगको शरीर त्यहीँ पावन क्षेत्रमा शिलाका रूपमा पशुपति ज्योर्तिलिङ्ग बनी प्रतिष्ठित भएको कथा पुराणमा वर्णन गरिएको छ । ब्रह्मा, विष्णु र इन्द्र तीन देवताको हातमा आएको सिङको तीन टुक्रालाई शिवकै आज्ञा अनुसार स्वर्ग, मत्र्य र पातालमा स्थापना गरियो, जसमध्ये देवराज इन्द्रले स्वर्गमा, ब्रह्माजीले पृथ्वीमा र भगवान् विष्णुले पातालमा शिवलिङ्गका रूपमा स्थापना गर्नुभयो । ब्रह्माजीद्वारा पृथ्वीमा स्थापित शिवलिङ्ग गोकर्णेश्वरका रूपमा उत्तरबाहिनी बागमतीको क्षेत्रमा अवस्थित छ । दक्षिण भारतमा रहेको गोकर्ण क्षेत्रभन्दा पनि यो उत्तर गोकर्ण क्षेत्रलाई ज्यादा पुण्यमय मानिएको छ । 

अर्को कथा प्रसङ्ग अनुसार ब्रह्महत्या, बन्धुहत्या जस्ता महापातकले ग्रस्त पञ्च पाण्डवले सबै महापातकबाट मुक्तिका लागि हिमालयमा भगवान् शिवको दर्शन गर्न जाँदा तिनीहरूदेखि पर भाग्न भगवान् शिव राँगोको स्वरूप धारण गरी दौडिनुभयो । पाण्डवहरूले पक्रन खोज्दा शिर भूमिमा धस्सिएर पशुपतिनाथका रूपमा प्रतिष्ठित भयो भने धड (शिरविहीन शरीर) केदारनाथका रूपमा प्रतिष्ठित भयो । यसरी पुराणका विविध कथा प्रसङ्गहरूले पशुपतिनाथलाई शिरोभाग एवं महाज्योर्तिलिङ्गका रूपमा आदर प्रकट गरेका छन् । 

वाग्वती उत्पत्ति र महिमा

भगवान् शिवको जिह्वाबाट ब्रह्मद्रवका रूपमा वाग्वती (हाल – बागमती) नदीको उत्पत्ति भएको कथा हिमवत्खण्डमा वर्णन गरिएको छ । यतो रुद्रमुखोद्भूता वाग्वतीति भविष्यति (हिमवत्खण्ड–८६÷२३) अर्थात् शिवजीको मुखबाट वाणी जस्तै प्रकट भएकाले वाग्वती भनिएको हो । गङ्गा जस्तै शिवबाट प्रकट भएकाले शिवगङ्गा र वाणीसँग सम्बद्ध भएकाले सरस्वती नदी भनेर पनि हिमवत्खण्डले महिमागान गरेको छ । जसरी पाशुपतक्षेत्र कैलाश, काशी आदि क्षेत्रभन्दा पनि बढी शिवको प्रिय छ, त्यस्तै वाग्मती पनि गङ्गा आदि नदीभन्दा ज्यादा महिमामयी छिन् । वराह पुराणका अनुसार बागमतीको जल भागीरथी गङ्गाभन्दा सय गुणा बढी पवित्र रहेको छ – भागीरथ्याः शतगुणं पवित्रं तज्जलं स्मृतम् (व.पु., २१५।४९) । बागमतीमा स्नान गर्नाले राजसूय र अश्वमेध यज्ञ गरेसमान पुण्य प्राप्त हुन्छ – तत्र तत्र फलं दद्याद् राजसूयाश्वमेधयोः (व.पु., २१५।७१) । 

वर्तमान समस्या र समाधान

पशुपतिकै स्नान–आचमन आदि नित्यक्रिया सम्पन्न गर्न प्रकट भएकी शिवगङ्गा बागमतीलाई शिवको नित्यसेवामा र तीर्थयात्रीहरूको स्नान–आचमनमा प्रयोग हुन नसक्ने गरी दूषित बनाइनु समग्र नेपाल राष्ट्रका लागि लज्जाको विषय बनेको छ । नेपालभित्र र बाहिरका लगभग डेढ अरब वैदिक सनातनीका प्रमुख आराध्यदेव भगवान्को पावन क्षेत्र यसरी प्रदूषित हुनु र राजनीतिक भागबन्डाका नियुक्तिहरूले विवादको विषय बन्नु अत्यन्तै खेदको कुरा हो । बागमतीमा ढल मिसाई आराध्यदेवको अपमान गर्ने सिलसिला ५० को दशकदेखि सुरु भए यता नेपाल राष्ट्रमा सशस्त्र युद्ध, आतङ्क, परस्पर वैमनस्य र सनातन संस्कृतिलाई तिरस्कार गर्ने विकृत राजनीति हाबी भएको तथ्य सबै तपस्वी साधकलाई अनुभव भइरहेको छ । हालसम्म जानी नजानी राज्य र जनस्तरबाट भएका विविध कमजोरी र अपराधबाट क्षमायाचनाका लागि शिवकै पुकारा–प्रार्थना गर्नु सिवाय अरू विकल्प हामीसँग छैन । पावन पाशुपतक्षेत्रलाई विविध मानवीय प्रदूषण र गैरधार्मिक व्यक्ति वा सङ्गठनको नियन्त्रणबाट मुक्त गर्ने पशुपति मुक्ति अभियान तत्काल आवश्यक छ । पाशुपतक्षेत्रलाई सत्ययुगको जस्तै स्वच्छ, शान्त र सर्वोच्च तीर्थका रूपमा कायम राख्ने चुनौती पनि हाम्रा अघि कायमै छ । यिनै शास्त्रीय मान्यता र वर्तमान परिस्थितिलाई ध्यान दिई समग्र धार्मिक क्षेत्रको तर्फबाट बृहत् जनजागरणसहित राज्यलाई सचेत र जिम्मेवार बनाउने विशिष्ट अभियानका रूपमा बृहत् पाशुपत पदयात्रा आयोजना हुन लागेको छ । ‘माता च पार्वती देवी पिता देवो महेश्वरः’ अर्थात् भगवती पार्वती र भगवान् शिव संसारकै मातापिता हुनुहुन्छ । त्यसैले मातापितालाई थप्पड हानेर अपमान गरेको सन्तानले मातापिताकै चरणमा झुकेर क्षमायाचना गरे जस्तै समस्त नेपाली नरनारीका तर्फबाट करुण पुकारा गर्दै राष्ट्रलाई सबै प्रकारका अभिसापबाट मुक्त गराइदिन भगवान् शिवसँग प्रार्थना गर्नु नै यस पदयात्रा कार्यक्रमको प्रमुख ध्येय हो ।

लिङ्गयात्रा (६४ सिद्धलिङ्ग दर्शन)

पाशुपतक्षेत्रमा तीन थरी यात्रा प्रचलित छन्, लिङ्गयात्रा, कुण्डयात्रा र वाग्वतीयात्रा । चौँसट्ठी सिद्धलिङ्गको क्रमशः दर्शन गर्दै अन्तमा पशुपतिनाथको दर्शन गर्ने यात्रा लिङ्गयात्रा हो । पाशुपतक्षेत्रका तोकिएका विशेष कुण्डमा स्नान गर्ने यात्रा कुण्डयात्रा हो भने वाग्वतीको मुहानदेखि फेदसम्म गरिने यात्रा वाग्वतीयात्रा हो । यीमध्ये लिङ्गयात्राको परिधि सबैभन्दा विशाल छ भने यसमा पूर्ण पाशुपतक्षेत्रको प्रदक्षिणा हुने देखिन्छ । पशुपतिनाथका उपलिङ्गका रूपमा रहेका चतुःषष्ठी (६४) सिद्धलिङ्गहरूको दर्शन, पूजन गर्दै अन्तिममा महाज्योतिर्लिङ्ग पशुपतिनाथको सभक्ति वन्दना गर्नाले सबै प्रकारका महापातकबाट छुटकारा पाइन्छ भन्ने पुराणको भनाइ छ । विरुपाक्षले नेमुनिको आदेश र मार्गदर्शनमा आदिलिङ्ग कुशेश्वरबाट सुरु गरी ६४ सिद्धलिङ्गको दर्शन गरेको क्रम हिमवत्खण्डको ८९ अध्यायदेखि १५७ अध्यायसम्म विस्तारपूर्वक वर्णन गरिएको छ । त्यही क्रमानुसार दर्शन गर्दा पशुपतिनाथको तीन पटक परिक्रमा हुन जान्छ । हाल सम्पन्न हुन लागेको पदयात्रा लगभग एक हजार किलोमिटर लामो छ भने ३५ दिनमा सम्पन्न हुने अनुमान छ । श्रद्धालुहरूको घरआँगनमा बास बस्दै, पाटी चौतारीमा सुस्ताउँदै, विद्यालयमा विश्राम गर्दै, मठमन्दिरहरूको दर्शन गर्दै, हरहर महादेवको ध्वनि गुञ्जाउँदै र शिवचर्चा गर्दै सम्पन्न हुने यो महान् पदयात्राले काठमाडौँ, भक्तपुर, ललितपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, मकवानपुर, धादिङ, नुवाकोट, दोलखा र रामेछाप गरी ११ जिल्लालाई स्पर्श गर्ने छ । नेपाल, भारत र बर्मासम्मका साधु–सन्त, गुरुकुलहरूका वेदाध्यायी वटुक एवम् सनातन धर्मानुयायी साधकहरू‌ (अनुमानित एक सय जना) पदयात्रीका रूपमा रहने यो अभूतपूर्व ऐतिहासिक पदयात्रा कार्यक्रम यही चैत १७ गते प्रातः कुशेश्वर, सिन्धुलीबाट आरम्भ भइरहेको छ । 

बृहत्–पाशुपत पदयात्राका सङ्कल्प 

पदयात्रा जनचेतनामूलक प्राज्ञिक आन्दोलन पनि भएकाले यसलाई उद्देश्यमुखी बनाउन पाँचबुँदे सङ्कल्प घोषणा गरिएको छ । जो यसप्रकार छ ः 

भगवान् श्री पशुपतिनाथ र जगज्जननी गुह्यकाली युगल रूपमा विराजित पवित्र पाशुपतक्षेत्र सम्पूर्ण ज्योतिर्लिङ्गहरूको शिरोभाग र आध्यात्मिकताको सहस्रारस्थानको रूपमा वैदिक सनातन धर्मावलम्बीका लागि सबैभन्दा पवित्र तीर्थक्षेत्र रहेको तथा शिवको जिह्वाबाट अमृतद्रवको रूपमा प्रकट भएकी वाग्वती (वाग्मती) को महिमा भागीरथी गङ्गाभन्दा पनि सय गुणा बढी रहेको पौराणिक तथ्यलाई मनन गर्दै पाशुपत क्षेत्रलाई विगतकै भव्यतम पौराणिक स्वरूपमा संरक्षित गर्न राज्य र जनस्तरमा विविध अभियान सञ्चालन गर्ने सङ्कल्पका साथ निम्नानुसार पशुपति घोषणापत्र, २०८२ पारित गरिएको छ । 

क्षमायाचना : वाग्वतीलाई मलिन (प्रदूषित) बनाई शिवजीलाई नित्य रुद्राभिषेक गर्न नसक्ने बनाउने र पाशुपतक्षेत्रलाई दलीय गुटबन्दीको सिकार बनाउने जस्ता कुकृत्यहरूले गर्दा समग्र राष्ट्रलाई शिवापराध लागी राष्ट्रमा परस्पर विद्वेष, हिंसा र असहिष्णुतासँगै राष्ट्र–विप्लवको खतरा बढिरहेकाले यसको क्षमापनका लागि सबै मिली आराध्यादेवसँग क्षमायाचना गर्ने । 

राज्यलाई खबरदारी : पाशुपतक्षेत्रलाई फोहोरजन्य मानवीय प्रदूषण र राजनीतिक प्रदूषणबाट मुक्त राखी विश्वभरिकै वैदिक तीर्थाटनको केन्द्रविन्दु बनाउन विविध योजना कार्यान्वयन गर्न राज्यलाई खबरदारी र पृष्ठपोषण प्रदान गर्ने । 

आध्यात्मिक समन्वयको सन्देश : शिवको किराँती रूप किराँतेश्वरदेखि वर्षमा एक पटक अवलोकितेश्वरका रूपमा बुद्धको मुकुट चढाउने प्रचलनसमेत यही पाशुपतक्षेत्रमा मात्र रहेकाले विश्वभरिका धार्मिक द्वन्द्वरत राष्ट्र र सङ्गठनलाई आध्यात्मिक समन्वयको सन्देश दिने गुरुराष्ट्रका रूपमा नेपाललाई नेतृत्व दिलाउन पहल गर्ने । 

व्यवस्थाको अनुगमन : पाशुपतक्षेत्रमा स्थापित विविध मन्दिर र देवविग्रहको नित्य पूजा, श्रीयुतशिवको पूजामा शुद्ध पञ्चामृत र जलको प्रयोग एवं तपस्वी साधुसन्तहरूको साधनात्मक निवासको समुचित व्यवस्था गर्न प्रेरणा दिने उद्देश्यले अधिकार प्राप्त संस्थासँग अन्तर्संवाद तथा अनुगमन गर्ने । 

अभियान सञ्चालन : चौँसट्ठी सिद्धलिङ्ग दर्शनसहितको पूर्ण पाशुपतक्षेत्र परिक्रमा, वाग्मती परिक्रमालगायत यस क्षेत्रका सिद्धपीठको दर्शनयात्राका साथ जन जनमा आस्था वृद्धि गर्ने उद्देश्यले साधुसन्तको अगुवाइमा पदयात्रा, रथयात्रा, महोत्सव, पशुपतिसंवाद आदि विविध धार्मिक र प्राज्ञिक अभियान सञ्चालन गर्ने ।