गोरखापत्र अनलाइन
काठमाडौँ, चैत १६ गते । गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीको चार वर्षे सफल कार्यकाल पूरा भएको अवसरमा सोमबार एक कार्यक्रमका बीच उहाँलाई बिदाइ गरिएको छ। संस्थानमा आयोजित औपचारिक समारोहमा उहाँलाई सम्मानका साथ बिदाइ गरिएको हो।
बिदाइ कार्यक्रममा गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक जुनारबाबु बस्नेत, दि राइजिङ नेपालका निमित्त प्रधान सम्पादक विष्णुप्रसाद गौतम र प्रशासन विभागका निमित्त निर्देशक ओमप्रकाश भुसालले महाप्रबन्धक ऐरीलाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गर्नुभयो।
त्यसैगरी, विभिन्न विभागका प्रमुखहरू, विराटनगर प्रदेश कार्यालयका प्रमुख, पत्रकार तथा कर्मचारीहरूले उहाँको कार्यकालको सम्मान गर्दै मायाको चिनो प्रदान गर्नुभएको थियो।
बिदाइ कार्यक्रममा पत्रकार तथा कर्मचारीले आठ वर्षदेखि अवरुद्ध पदपूर्ति प्रक्रिया सुरु भई कर्मचारीको वृत्ति विकास भएको, संस्थानको छवि उच्च बनाउन महाप्रबन्धकको योगदान विशिष्ट रहेको भन्दै उहाँको उज्ज्वल भविष्यको कामना गर्नुभयो ।

गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक बस्नेत, राइजिङ नेपालका निमित्त प्रधान सम्पादक गौतम, मधुपर्कका निमित्त सम्पादक तुलसीहरि कोइराला, डिजिटल प्रमुख नारदमुनि गौतम, गोरखापत्र एकेडेमीका निर्देशक केदार भट्टराईले महाप्रबन्धक ऐरीले संस्थानमा रहँदा पुराएको योगदानको चर्चा गर्नुभयो ।
यसैगरी, प्रशासन विभाग प्रमुख
ओमप्रकाश भुसालले २०८२ असोज १२ गतेदेखि अध्यक्ष तथा महाप्रबन्धकको जिम्मेवारी सम्हालेपछि कार्यले संस्थानमा दुरगामी प्रभाव पार्ने बताउनु भयो ।
अर्थ विभागका प्रमुख राजुकुमार महतले भन्नुभयो, ‘‘महाप्रबन्धक ऐरीको पछिल्लो कार्य अवधि कर्मचारीको मन, मुटु र मस्तिष्कमा रहिरहने छ ।’’
यसैगरी, सूचना प्रविधि विभागका प्रमुख रेखादेवी श्रेष्ठ, विज्ञापन विभागका प्रमुख गंगबहादुर पन्थी, वितरण विभाग प्रमुख बबिता कार्की, राधा चालिसे, विष्णुप्रसाद खनाल, विमला खड्का, राजकुमार गुरुङलगायतले महाबन्धक ऐरीले संस्थानमा रहँदा पुराएको योगदानको उल्लेख गर्नुभयो ।
यसअघि आयोजित छुट्टै कार्यक्रममा महाप्रबन्धक ऐरीले गोरखापत्र संस्थानलाई समय सुहाउँदो बनाउनुपर्ने र आफूले बिगत छ महिनामा गरेको कामको स्मरण गर्दै आफू जहाँ रहे पनि गोरखापत्र संस्थानका लागि सक्रिय भूमिका निर्वाह गर्ने बताउनुभयो ।
उहाँले गोरखापत्र संस्थानमा वर्षौदेखि अड्किएर रहेको कामलाई टुङ्ग्याउन पाउँदा आफूलाई खुसी लागेको बताउनुभयो ।
उहाँका अनुसार गोरखापत्र एकेडेमी आफ्नो परिकल्पना रहेको र त्यसलाई स्थापना गर्न सक्नु संस्थानकै उपलब्धिको रुपमा हेरेको बताउनुभयो ।
महाप्रबन्धक ऐरीले पहिलो पटक संगठन तथा व्यवस्थापन सर्वेक्षण ‘ओएनएम’, आठ वर्षपछि बढुवा तथा पदपूर्ति, सामाजिक सुरक्षा कोषमा आबद्धता, कार्यान्वयन तथा संस्थानको नयाँ ऐन मस्यौदा, नीतिगत बहस थालनी ‘गोरखापत्र डिस्कोर्स’, कर्मचारी कल्याण कोषलाई पुनः सञ्चालन गरिएको बताउनुभयो ।
व्यापार दोब्बर, मुनाफामा संस्थान, सबै प्रकाशन हातैमा, नागरिक पहिलो प्रकाशकीय नीति, गोरखापत्र एकेडेमी स्थापना, गोरखापत्रका प्रकाशनहरुको डिजिटल अर्काइभिङलगायतका आफूले गरेका कामको सम्झना स्वरुप गोरखापत्र दैनिक, दी राइजिङ नेपाल, गोरखापत्र एकेडेमी र गोरखापत्र अनलाइनलाई मायाको चिनो उपहार प्रदान गर्नुभयो ।
गोरखापत्र संस्थानमा कार्यरत सबै कर्मचारीको बढुवा हुनु र करार कर्मचारीलाई कर्मचारी कल्याणकारी कोषमा जोड्न सक्नु पनि आफ्नो कार्यकालको उपलब्धि भएको उहाँको भनाइ छ । यो छ महिनाको कामका लागि सहजीकरण गर्ने संस्थानका सबै कर्मचारीलाई उहाँले धन्यवाद दिनुभयो ।
कार्यक्रममा गोरखापत्र दैनिकका प्रधान सम्पादक जुनारबाबु बस्नेतले संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै नेतृत्व पुनः पाउने आशा व्यक्त गर्नुभयो । संस्थानका प्रशासन विभागका निमित्त निर्देशक ओमप्रकाश भुसालले आर्थिक प्रतिफल स्वरूप यो छ महिनामा कर्मचारीले प्रोत्साहनका साथसाथै वृत्ति विकास भएको भन्दै संस्थानका महाप्रबन्धक ऐरीप्रति खुसी व्यक्त गर्नुभयो ।

‘दी राइजिङ नेपाल’ का निमित्त प्रधान सम्पादक विष्णुप्रसाद गौतमले महाप्रबन्धक ऐरीको आगामी दिन सुखमय बितोस् भन्ने कामना गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घ गोरखापत्र संस्थान, प्रतिष्ठान शाखाका का अध्यक्ष दीपक श्रेष्ठले गोरखापत्र संस्थानमा आएको दिनदेखि नै संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले कार्यकारी भूमिका निर्वाह गर्नुभएको भएको काम चार वर्ष पहिले हुने थियो भन्नुभयो । उहाँका अनुसार ऐरी कुशल नेतृत्वकर्ता हुनुहुन्छ ।
