• ७ वैशाख २०८३, सोमबार

दुई वर्षमा एक किलोमिटर मात्रै ट्र्याक

blog

फाइल तस्बिर

कालीकोट समाचारदाता

कालीकोट, वैशाख ७ गते । कालीकोटको नरहरिनाथ गाउँपालिकाको केन्द्र कुमालगाउँदेखि रुप्सा जोड्ने सात किलोमिटर सडक निर्माण सुरु गरिएको दुई वर्षमा एक किलोमिटर मात्रै ट्र्याक खुलेको छ । कडा चट्टान फुटाउन मुस्किल भएकाले सडक निर्माणमा ढिलाइ भएको हो ।

नरहरिनाथ गाउँपालिका–५, रुप्साका धनबहादुर सहकारीले भन्नुभयो, “सडक खुलेसँगै गाडी चढौँला भनेर रुप्साका स्थानीय प्रतीक्षामा छन् तर चट्टानी भाग धेरै भएको र विस्फोटक पदार्थ नभएकाले निर्माणमा ढिलाइ भइरहेको छ ।”

उहाँका अनुसार गाउँपालिकाले दुवैतर्फबाट ठेक्का लगाएर काम गरिरहेको भए पनि प्रगति हुन सकेको छैन । डोजरले भिर फुटाउन थालेको दुई महिना भयो । तीन किलोमिटर कडा चट्टान भएकाले कहिले छिचोलिने हो एकिन छैन । 

कडा चट्टान र भिरालो जमिनमा स्थानीय उपभोक्ताबाट सडक खन्न सम्भव नभएपछि गाउँपालिकाले सङ्घीय समपूरक कोषबाट प्राप्त बजेट लागत साझेदारी गरेर छ महिनाअघि ठेक्का लगाएको हो । कुमालगाउँको गोठीबाट अदेलातर्फको दुई किलोमिटरका लागि दुई करोड रुपियाँमा लगाएको ठेक्का नन्दमाता किरण जेभीले पाएको छ । गाउँपालिकाका प्रवक्ता प्रदीप बोहोराले माथि रुप्साबाट र तल अर्को छ करोडको ठेक्कामार्फत सद्भाव एसकेटी जेभीले दुई महिनादेखि डोजर लगाएर चट्टानमा काम गरिरहेको बताउनुभयो । मेहेलमुडी हुँदै रुप्सा लेकबाट तल झारिएको डोजरले माथिबाट तलतिर भिर फुटाइरहेको छ भने कुमालगाउँतर्फबाट माथितिर पनि डोजरले काम गरिरहेको छ । 

स्थानीय विमला बोगटीले गाउँपालिकाको केन्द्र कुमालगाउँबाट पाँच घण्टा पैदल हिँडेर रुप्सा पुग्नु परेको गुनासो गर्दै सडक बनेपछि पिठ्युको भारी बोक्नुपर्ने र पैदल हिँड्नुपर्ने बाध्यता अन्त्य हुन्छ कि भन्ने आशा गरिएको बताउनुभयो । विमलाले भन्नुभयो, “पहिलो कार्यकालका जनप्रतिनिधिले पनि सडक पु¥याउँछौँ भनेर भोट मागे । दोस्रो कार्यकालले पनि सडक नै चुनावी नारा बनाए तर हामीले कहिले गाडी चढ्न पाउने हो भन्ने अझै निश्चित छैन ।”

गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर विष्टले अबको एक वर्षभित्र पालिकाका सबै बस्तीमा सडक पु¥याउने योजना रहेको तर कुमालगाउँसम्म त पिच नै गर्ने लक्ष्य राखिएको बताउनुभयो । विष्टले रुप्सा जोड्ने सडकका लागि विस्फोटक पदार्थ माग गर्दै गृह मन्त्रालयमा तीन पटक पत्राचार गरे पनि अझै अनुमति नआएको बताउनुभयो । 

कालीकोटको खुलालुबाट लालु, माल्कोट, कुमालगाउँ, कोटवाडा, सान्नी, रास्कोट, नानीकोट हुँदै बाजुराको लैफु जोड्ने रणनीतिक सडक पनि निर्माण भइरहेको छ । यो सडक बनेपछि कोटवाडा विमानस्थल पनि सञ्चालनका लागि दबाब दिन पनि सहज हुने अध्यक्ष विष्टको भनाइ छ ।