गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख ७ गते । सरकारले अबदेखि कर्मचारीलाई प्रत्येक १५ दिनमा तलबभत्ता भुक्तानी गर्ने भएको छ । यसअघि राष्ट्रसेवक सरकारी कर्मचारीलाई मासिक रूपमा तलबभत्ता उपलब्ध गराइँदै आएकोमा अब नयाँ व्यवस्था गर्ने अर्थ मन्त्रालयले निर्णय गरेको हो ।
वैशाख ४ गतेको अर्थमन्त्रीस्तरीय निर्णयबाट १५ दिनमै तलब सुविधा भुक्तानी गर्ने निर्णय भएको हो । अर्थ मन्त्रालयले सरकारी भुक्तानी निकासा गर्ने व्यवस्था मिलाउन महालेखा नियन्त्रक कार्यालयलाई मन्त्रालयको निर्णयबारे पत्र लेखिसकेको छ । सरकारको यो निर्णयमातहतका समिति, आयोग, सार्वजनिक संस्थानमा क्रमशः लागु हुने मन्त्रालयले जनाएको छ ।
बजारमा नगद प्रवाह बढाउन र कर्मचारीलाई सहजता दिने उद्देश्यसहित मन्त्रालयले यस्तो निर्णय गरेको उल्लेख छ । विकसित देशमा साप्ताहिक र पाक्षिक रूपमा तलब सुविधा भुक्तानी गर्ने प्रचलन छ ।