पाख्रीबास समाचारदाता
पाख्रीबास, वैशाख ७ गते । ‘चियासँग कविता’ कन्सर्टको ५५ औँ शृङ्खला सम्पन्न भएको छ । कार्यक्रममा कविहरू उत्तम तुम्सा लिम्बू र डिआर फुयाँलले कविता वाचन गर्नुभएको थियो । यस्तै कविसँगै तेजेन्द्र गन्दर्भले साङ्गीतिक प्रस्तुति राख्नुभएको थियो ।
कवि लिम्बू र फुयाँलले एक/एक दर्जन कविता वाचन गर्नुभएको थियो । उहाँहरूले समाजमा घटेका विभिन्न घटना र भोगाइलाई कविताका माध्यमबाट प्रस्तुत गर्नुभएको थियो । उहाँका कविताले सङ्गीत र साहित्यको सङ्गमलाई केवल मनोरञ्जन मात्रै थपेन, भावनात्मक सम्बन्धलाई पनि मजबुत बनाएको थियो । कविले प्रेम, पीडा, समाज र जीवनका विविध पाटा कवितामार्फत प्रस्तुत गरेका थिए ।
यस्तै कवि गन्दर्भले आधा दर्जनभन्दा बढी गीत प्रस्तुत गर्नुभएको थियो । उहाँले सारङ्गीको धुनसँगै विभिन्न परिधि र भोगाइका घटनालाई जोडेर गीत प्रस्तुत गर्नुभएको थियो । कन्सर्टले साहित्य र सङ्गीतलाई एउटै धागोमा गाँस्दै धनकुटामा फरक स्वादसमेत प्रस्तुत गरेको थियो । धनकुटामा साहित्यलाई फरक ढङ्गले अगाडि बढाएर लुकेर रहेका प्रतिभा बाहिर ल्याउन कार्यक्रमको आयोजना गरिएको गोपाल बराइलीले बताउनुभयो ।
धनकुटामा हरेक हप्ता ‘चियासँग कविता’ नामक साहित्यिक कार्यक्रम हुँदै आएको छ । कार्यक्रममा आफ्ना रचना सुनाउन र अरूका सिर्जना सुन्न उत्तिकै उत्साहित भएर सहभागी हुने गरेका छन् । उक्त कन्सर्ट शुक्रबार सञ्चालन हुँदै आएको छ । सहभागीलाई कविता, गजल, मुक्तक वा गीत प्रस्तुत गर्ने अवसर दिइन्छ । चियासँग कविता कन्सर्ट कार्यक्रममा बोल्दै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले साहित्यले समाज रूपान्तरण गर्ने बताउनुभयो । उहाँले साहित्यमार्फत धनकुटा परिवर्तन गर्न सकिने बताउँदै सबैले सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।