दिपकप्रसाद गौतम
वीरगञ्ज (पर्सा), वैशाख ६ गते । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तारका लागि आइतबार बिहानैदेखि डोजर प्रयोग गरी अतिक्रमण हटाउने कार्य सुरु गरिएको छ ।
सडक डिभिजन कार्यालय हेटौँडाका डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार त्रिभुवन राजपथअन्तर्गत पर्ने वीरगञ्जको गण्डक चोकदेखि मितेरी पुलसम्मको मुख्य सडकलाई राष्ट्रिय राजमार्गको मापदण्डअनुसार दायाँ–बायाँ २५÷२५ मिटर चौडा बनाउने काम सुरु गरिएको हो ।
गण्डक, पावरहाउस चोक, घण्टाघर, रजतजयन्ती चोक र मितेरी पुल भन्सार क्षेत्र गरी पाँच स्थानमा एकसाथ डोजर परिचालन गरेर सडक विस्तारको काम सुरु गरिएको सडक डिभिजन कार्यालय हेटौँडाका नायब सुब्बा राजकुमार अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो क्षेत्रमा सरकारी कार्यालयका २९ वटा भवन तथा निजी स्वामित्वका करिब एक हजार दुई सय घरटहराहरू रहेका छन् ।
वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले सडक विस्तारका लागि सडक विभागले माग गरेअनुसार आवश्यक सबै सहयोग उपलब्ध गराइएको बताउनुभयो ।
त्रिभुवन राजपथअन्तर्गत गण्डक चोकदेखि नेपाल–भारत सीमाको मितेरी पुलसम्म पर्ने मुख्य सडकलाई २५/२५ मिटर विस्तार गर्ने योजना विगत १३ वर्षदेखि विभिन्न कारणले रोकिँदै आएको थियो ।
सर्वोच्च अदालतले वीरगञ्जको मुख्य सडक विस्तारसम्बन्धी मुद्दामा २०८१ फागुन २८ गते सरकारको पक्षमा फैसला गरेको थियो । उक्त फैसला भएको करिब १३ महिनापछि कार्यान्वयनका लागि अतिक्रमण गरी बनाइएका घरटहरा हटाउने काम आइतबारदेखि सुरु गरिएको हो ।




