अविनाश चौधरी
धनगढी, वैशाख ५ गते । कैलालीमा मरेको ब्रोइलरको मासु खाएर दाजुभाइको मृत्यु भएको घटनापछि फार्ममा मरेका ब्रोइलरको नमूना परीक्षण गर्दा कुनै पनि सङ्क्रमण नभेटिएको पशु रोग अन्वेषण प्रयोगशाला धनगढीले जानकारी दिएको छ ।
ब्रोइलरको मासु खाएर मान्छे बिरामी परेको र दुई जनाको ज्यान गएको घटनापछि प्रयोगशालाको प्राविधिक टोली खटेर चुरे गाउँपालिकामा रहेको विकास पोल्ट्री फार्ममा मरेका कुखुुराको नमूना परीक्षण गरेको थियो । परीक्षण गर्दा कुखुरामा हानिकारक सङ्क्रमण फेला नपरेको प्रयोगशालाका प्रमुख डा. नरेशप्रसाद जोशीले जानकारी दिनुभयो । उहाँले बर्डफ्लू पनि नेगेटिभ आएको उल्लेख गर्नुभयो ।
जोशीका अनुसार मासु खाएर बिरामी पर्नुको कारण कुनै सङ्क्रमण नभइ सडेगलेका मासु खाएर भएको देखिन्छ । उहाँले बिरामी परेको परिवारले चार दिनसम्म पोलेर सडेगलेको मासु खाएको खुल्न आएकोले फूड प्वाइजन भएको हुन सक्ने बताउनुभयो।
मरेको ब्रोइलरको मासु खाएर चुरे गाउँपालिका–३, भक्तपुरका आठ वर्षीय भीम ताम्राकार र पाँच वर्षीय दीपकको उपचारको क्रममा शुक्रबार सेती प्रादेशिक अस्पताल धनगढीमा ज्यान गएको थियो ।
मृतकका आमा राधिका र कान्छा भाइ तीन वर्षीय दीपेशको भने सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।