• ५ वैशाख २०८३, शनिबार

नगरपालिका र गाउँपालिका गाभ्ने प्रक्रिया अघि बढाउँदै मन्त्रालय

स्थानीय तहको सङ्ख्या र सिमाना हेरफेरका लागि मन्त्रालयले माग्यो सुझाव

blog

फाइल तस्बिर

काठमाडौँ, वैशाख ५ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका, नगरपालिका तथा वडाको सङ्ख्या र सिमाना हेरफेरका सम्बन्धमा सरोकारवाला पक्षहरूसँग राय सुझाव माग गरेको छ । मन्त्रालयले वैशाख ३ गते सबै जिल्ला समन्वय समिति, स्थानीय तह र सम्बन्धित निकायलाई पत्राचार गर्दै यस विषयमा सुझाव पठाउन आग्रह गरेको हो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को विभिन्न दफामा रहेका व्यवस्था बमोजिम स्थानीय तहको सिमाना हेरफेर, गाभ्ने (मर्जर) तथा नगरपालिकाको विद्यमान वर्गीकरणमा पुनरावलोकन गर्न प्रारम्भिक मस्यौदा तयार भइसकेको मन्त्रालयले जनाएको छ । सोही मस्यौदालाई पूर्णता दिन मन्त्रालयले जिल्ला समन्वय समिति महासङ्घ, नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घलाई समेत सहजीकरणका लागि बोधार्थ पठाएको छ ।

मन्त्रालयका अनुसार ऐनको दफा ३, ५, ६, ७ र ८ को व्यवस्थालाई कार्यान्वयनमा ल्याउन यो प्रक्रिया अघि बढाइएको हो । जस अन्तर्गत गाउँपालिका तथा नगरपालिकाको सिमाना हेरफेर गर्ने, दुई वा दुईभन्दा बढी स्थानीय तह एक आपसमा गाभिने र वडाको सङ्ख्या मिलान गर्ने जस्ता विषयहरू समेटिएका छन् ।

मन्त्रालयले सो मस्यौदाका सम्बन्धमा कुनै राय वा सुझाव भए तीन दिनभित्र मन्त्रालयको आधिकारिक इमेल ठेगानामा उपलब्ध गराउन सरोकारवालाहरूलाई अनुरोध गरेको छ । प्राप्त सुझावहरूलाई अध्ययन गरी स्थानीय तहको संरचनात्मक सुधार र सुदृढीकरणका लागि आवश्यक कदम चालिने मन्त्रालयको भनाइ छ ।