गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख ४ गते । नेकपा (एमाले) ले पार्टीको स्थापना दिवस रचनात्मक कार्यक्रम गरी मनाउने भएको छ । आज बसेको केन्द्रीय कार्यालयको बैठकले पार्टी स्थापना दिवस मनाउने निर्णय गरेको हो ।
महासचिव शंकर पोखरेलको अध्यक्षतामा केन्द्रीय कार्यालय, च्यासलमा बसेको बैठकले पार्टी स्थापना दिवसमा कार्यक्रम आयोजना गर्ने निर्णय गर्नुका साथै पार्टीको यसअघि निर्धारित केही कार्यक्रमलाई संशोधन गरेको छ।
बैठकले सबै जिल्ला कमिटीहरु वैशाख ९ गते सबै जिल्लामा अनिवार्य रूपमा विभिन्न रचनात्मक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार, उपत्यकाको हकमा भने बैशाख ९ गते दिउँसो २ बजे केन्द्रीय कार्यालय, च्यासलमा कार्यक्रम आयोजना गरिने भएको छ ।
बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीको सन्दर्भमा बैशाख ७ र १२ गते गर्ने गरी तय भएका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ ।