• ४ वैशाख २०८३, शुक्रबार

६०८ ग्राम लागुऔषधसहित दुई पक्राउ

blog

लीलाराज खड्का 

बिर्तामोड, बैशाख ४ गते । झापाको कनकाई नगरपालिका –५ चप्रामारीमा ठूलो परिमाणमा लागुऔषधसहित खैरो हिरोईन सहित प्रहरीले  दुईजना पक्राउ गरेको छ  ।

शुक्रबार बिहान ११.३० बजे झापा गाउँपालिकाबाट सुरुङ्गातर्फ आउँदैगरेको बीआर३७ आर १८६६ नम्बरको मोटरसाइकललाई कन्काई –५ तल्लो चप्रामारीमा चेकजाँच गर्दा प्लास्टिकसहित ६०८ ग्राम ५०० मिलिग्राम र प्लाष्टिकबाहेक ५६३ ग्राम ६२० मिलिग्राम ब्राउन सुगर फेला परेको हो । सो लागुऔषधसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा एकजना नेपाली र अर्का भारतीय रहेका छन् । झापा गाउँपालिका वडा ६ बस्ने बर्ष २२ का साफिक उलमिया र भारत डिगलबैंक थाना वडा –१ बस्ने बर्ष २२ का निसार आलमलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लागुऔषध व्युरो बिराटनगर र इलाका प्रहरी कार्यालय सुरुङ्गाको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाको आधारमा झापा गाउँपालिकाबाट सुरुङ्गातर्फ आउँदैगरेको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा उनीहरुले बोकेको हाते झोलाभित्र खानाको बट्टामा ६ पोका ब्राउन सुगर भेटिएको हो ।

उनीहरु विराटनगरबाट आएको र सोही ठाउँबाट लागुऔषध व्यूरो बिराटनगरको टोलीले पछ्याउँदै आएको प्रहरीले जनाएको छ । उनीहरुलाई लागुऔषध र मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।