प्रतीक इच्छुक शर्मा
सल्यान, वैशाख ४ गते । जिल्ला अस्पताल सल्यानमा चिकित्सक अभावका कारण सल्यक्रिया (अपरेसन) सेवा पूर्ण रूपमा बन्द भएको छ । जटिल अवस्थाका गर्भवती तथा सुत्केरी हुन नसकेका महिलालाई सेवा दिँदै आएको अस्पतालमा एमडीजीपी चिकित्सक अभाव भएपछि चैत २८ गतेदेखि सेवा ठप्प भएको हो ।
सेवा बन्द भएपछि सल्यक्रियाका लागि आउने बिरामीहरू दाङ, सुर्खेत र नेपालगञ्ज जान बाध्य भएका छन् । यसअघि जिल्लामै न्यून शुल्कमा उपचार पाउँदै आएका सेवाग्राही अहिले बाहिर जानुपर्दा आर्थिक भारसमेत बढेको छ । जटिल अवस्थाका गर्भवती महिलाका लागि यो अवस्था थप जोखिमपूर्ण बनेको छ ।
मानव अधिकारकर्मी रामचन्द्र रेग्मीले सेवा लिन आएका सेवाग्राहीले अप्रेसन सेवा बन्द हुँदा ठुलो समस्या परेको गुनासो गरेको उल्लेख गर्दै सम्वन्धित निकायले स्वास्थ्यजस्तो संवेदनशील विषयमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अप्रेसनकै लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता आयो, सम्बन्धित निकायले छिट्टै डाक्टर व्यवस्था गरिदिनुपर्छ ।”
अस्पतालमा प्रत्येक महिना एक सयभन्दा बढी महिला सुत्केरी हुने गरेका छन्, जसमा केहीलाई सल्यक्रिया आवश्यक पर्छ । तर हाल सामान्य सुत्केरी सेवा मात्र सञ्चालनमा रहेको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुनकुमार बुढामगरका अनुसार जटिल अवस्था भएका तथा मिति नाघेका गर्भवतीलाई जिल्ला बाहिर रेफर गर्नुपरेको वाध्यता सुनाउनुभयो ।
उहाँले भन्नुभयो, “एमडीजीपी चिकित्सकको अभावबारे संघ र प्रदेश सरकारलाई जानकारी गराएर माग गरिएको भए पनि हालसम्म व्यवस्थापन हुन सकेको छैन ।” अस्पतालमा कार्यरत एमडीजीपी डा. बुद्धिनाथ साह बिरामी भएर उपचाररत रहनु तथा तालिमप्राप्त मेडिकल अधिकृत उच्च अध्ययनका लागि गएको कारण सेवा प्रभावित भएको जनाइएको छ ।
यस्तै, प्रतिनिधिसभा सदस्य रमेश मल्लले चिकित्सक अभावका कारण प्रसुति शल्यक्रिया सेवा बन्द हुनुले गम्भीर समस्या उत्पन्न भएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले कर्णाली प्रदेश सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटा तथा प्रधानमन्त्रीको सचिवालयसम्म विषय पुगिसकेको जानकारी दिनुभयो ।
“प्रसव पीडामा रहेका महिलालाई अस्पतालको गेटबाटै फर्काउनुपर्ने अवस्था अत्यन्तै संवेदनशील र दुःखद हो” उहाँले भन्नुभयो । समस्या समाधानका लागि सम्बन्धित निकायबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको उहाँको भनाइ छ । चिकित्सक अभाव यथाशीघ्र समाधान नभए जिल्लाको मातृ तथा शिशु स्वास्थ्य सेवामा थप जोखिम बढ्ने सरोकारवालाले बताएका छन् ।