• ४ वैशाख २०८३, शुक्रबार

झगडा मिलाउन गएका वडाध्यक्षमाथि कुटपिट

blog

घाइते वडाध्यक्ष शर्मा । फाइल तस्बिर

राजु लामिछाने

रुकुमपश्चिम, वैशाख ४ गते । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–१३ का वडाध्यक्षमाथि कुटपिट भएको छ । वडाध्यक्ष श्रीकृष्ण शर्मामाथि आफ्नै वडाका एक पुरुषले कुटपिट गर्दा उहाँ घाइते हुनुभएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदबहादुर पौडेलका अनुसार शुक्रबार बिहान वडाध्यक्ष शर्मामाथि कुटपिट भएको हो । सोही वडाको रातामाटा टोलका २५ वर्षीय सुदिप रोकाया र उहाँकी श्रीमती डम्मरी रोकायाबिच झैझगडा भइरहेको सूचना पाएपछि वडाध्यक्ष शर्मा विवाद मिलाउन जानुभएको थियो ।

उनीहरूलाई सम्झाइबुझाइ गर्ने क्रममा सुदिप रोकायाले वडाध्यक्षमाथि नै हातपात गरेका थिए । रोकायाले कुटपिट गर्दा वडाध्यक्ष शर्माको कम्मरमा भित्री चोट लागेको छ । उहाँलाई उपचारका लागि चौरजहारी अस्पताल लगिएको छ ।

स्थानीयका अनुसार रोकायाले श्रीमतीलाई लछारपछार गरी कुटपिट गरिरहेको अवस्थामा वडाध्यक्ष शर्माले रोक्न खोज्नुभएको थियो । आवेगमा रहेका रोकायाले वडाध्यक्षलाई धक्का दिँदा उहाँ काल्नाबाट लड्नुभएको थियो । ढुङ्गामा बज्रिँदा उहाँको ढाडमा चोट लागेको हो ।

श्रीमती र वडाध्यक्षमाथि कुटपिट गर्ने रोकायालाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक कारबाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।