• ४ वैशाख २०८३, शुक्रबार

चखौरामा खाना महोत्सव सुरु

blog

महोत्सव उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पर्यटन डिभिजन कार्यालय बाँकेका वरिष्ठ अधिकृत कृष्णबहादुर विष्ट । तस्बिर : सन्तोष दहित ।

सन्तोष दहित 

दाङ, वैशाख ४ गते । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले रैथाने परिकारलाई पर्यटन र व्यवसायसँग जोड्नुपर्नेमा जोड दिनुभएको छ ।

दंगीशरण गाउँपालिका ३ चखौरामा “घुमघाम, रैथाने स्वाद अनि संगीतको धुमधाम” भन्ने मूल नारासहित शुक्रबारदेखि सुरु भएको रैथाने खाना महोत्सव २०८३ को उद्घाटन गर्दै प्रमुख अतिथि केसीले हराउँदै गइरहेका रैथाने खानालाई व्यवसायिक रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

उहाँले काठमाडौंमा नेवार समुदायबाट रैथाने परिकारको संरक्षण र प्रवर्द्धन सुरु भएको उल्लेख गर्दै अहिले राजधानी बाहिर पनि यस्तो अभियान विस्तार हुनु सकारात्मक रहेको बताउनुभयो । यस्ता महोत्सवलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै उहाँले रैथाने खानालाई रोजगारी र अर्थतन्त्रसँग जोड्न सके यसको संरक्षणमा टेवा पुग्ने बताउनुभयो । “रैथाने खानाको संरक्षण र प्रवर्द्धन भए मात्रै समुदायको पहिचान र संस्कृति जोगिन्छ,” उहाँले भन्नुभयो ।

त्यस्तै, पर्यटन डिभिजन कार्यालय बाँकेका वरिष्ठ अधिकृत कृष्णबहादुर विष्टले महोत्सवको उद्देश्य आन्तरिक तथा बाह्य पर्यटकलाई शुद्ध रैथाने परिकारको स्वाद चखाउने रहेको बताउनुभयो । पुर्खादेखि चलिआएका परम्परागत खानाको संरक्षण र प्रवर्द्धन गर्दै विशेषगरी थारू रैथाने परिकारलाई अघि बढाउने लक्ष्य रहेको उहाँको भनाइ छ । 

बैशाख ६ गतेसम्म सञ्चालन हुने महोत्सवमा थारू, मगर, गुरुङ र नेवारी समुदायका विभिन्न परिकारहरू राखिएको थारू सांस्कृतिक संरक्षण केन्द्रकी उपाध्यक्ष शान्ता चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार लोपोन्मुख बन्दै गएको परम्परागत खानपान, भेषभूषा र संस्कृतिको संरक्षणका लागि महोत्सव आयोजना गरिएको हो । 

महोत्सवमा थारू समुदायका मौलिक परिकारहरूको प्रदर्शन तथा बिक्री गरिनुका साथै विभिन्न समुदायका परम्परागत नाच, गीत र सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत भइरहेका छन् ।