• ५ वैशाख २०८३, शनिबार

मरेको कुखुराको मासु खाँदा दाजुभाइको मृत्यु

blog

फाइल तस्बिर

अविनाश चौधरी

धनगढी, वैशाख ५ गते । मरेको ब्रोइलर कुखुराको मासु खाएर बिरामी परेका कैलालीको दुई दाजुभाइको उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चुरे गाउँपालिका –३, भक्तपुरको आठ वर्षीय भीम ताम्राकार र दीपकको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा ज्यान गएको हो । मासु खाएर बिरामी परेकी उहाँहरुकोे आमा राधिका र कान्छा भाइ तीन वर्षीय दीपेशको उपचार भइरहेको छ । 

उनीहरुले वैशाख ३ गते स्थानीय विकास पोल्ट्री फार्मबाट मरेको ब्रोइलर कुखुरा खरिद गरेर मासु खाएका जनाइएको छ । मासु खाएर परिवारै बिरामी परेको खबर ४ गते मात्रै प्रहरीलाई आएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिनुभयो । 

उहाँका अनुसार प्रहरीको समन्वयमा उपचारका लागि सेती प्रादेशिक अस्पताल शुक्रबार पु¥याउँदा उपचारको क्रममा नै दाजुभाइको मृत्यु भएको थियो । अवस्था मध्यम रहेका आमाछोराको भने सोही अस्पतालमा उपचार जारी रहेको छ । 

घटनापछि फार्म सञ्चालक मङ्गल साउँद इलाका प्रहरी कार्यालय मालाखेतीमा आफै उपस्थित भएर कागज गरेको जनाइएको छ । बोलाएको बखत प्रहरी कार्यालयमा हाजिर हुनेगरी उहाँले कागज गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।