बोमलाल गिरी
नवलपुर, वैशाख ५ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१६ फारममा कार र जेसिबी ठक्कर खाँदा पाँच जना घाइते भएका छन् ।
झरही खोलाबाट रजहर तर्फ जाँदै गरेको जेसिबीको पछाडि नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको बा. १८ च. ३३२३ नम्बरको कारले नम्बर नखुलेको मोटरसाइकललाई जोगाउने क्रममा जेसिबीसँग ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा कारमा सवार एकै घरका पाँच जना घाइते भएका छन् । कार चालक रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ का ३४ वर्षीय सागर ज्ञवाली, उहाँकी श्रीमती ३१ वर्षीया अन्सु पौडेल, उहाँका तीन वर्षका छोरा आयान र ९ महिनाको छोरा वेदाक्ष तथा आमा ५६ वर्षीय कमला ज्ञवाली घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक अलिन पण्डितले जानकारी दिनुभयो ।
उहाँहरूलाई उपचारका लागि नयाँ मेडिकल कलेज चितवन पठाएको प्रहरीले जनाएको छ । कार, जेसिबी र जेसिबी चालक देवचुली–१७ का रामु कडेललाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।