• ५ वैशाख २०८३, शनिबार

बाँकेमा महिला, बालबालिका र जेष्ठ नागरिक पिडित भएका १०३ उजुरी दर्ता

blog

जिल्ला प्रहरी कार्यालय बाँकेको नेपालगन्जस्थित कार्यालय भवन । तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, वैशाख ५ गते । बाँकेमा महिला, बालबालिका र जेष्ठ नागरिकविरुद्ध हिंसाका घट्ना वृद्धि भएको पाइएको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको गत चैत महिनाको मासिक तथ्याङ्कमा मात्रै महिला, बालबालिका र जेष्ठ नागरिकविरुद्ध हिंसाका १०३ वटा उजुरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको पाइएको हो । 

जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टका अनुसार चैत महिनामा महिला, बालबालिका र जेष्ठ नागरिकविरुद्ध हिंसाका १०३ वटा उजुरी दर्ता भएकोमा ८२ वटा विभिन्न तरिकाले उजुरी फर्छ्याैट गरिएको तथा २१ वटा उजुरी फर्छ्याैट हुन बाँकी रहेका छन् । 

निमित्त सूचना अधिकारी विष्टले पिडित भएर उजुरी दिनेहरूमा १८ देखि २५ वर्ष उमेरका २५ जना तथा २६ देखि ३९ वर्ष उमेरका ५२ जना महिला, बालबालिका र जेष्ठ नागरिक रहेको बताउनुभयो । 

सोही प्रकारले गत महिनामा मात्रै ५३ जना महिला, बालबालिका र जेष्ठ नागरिक हराएको वा बेपत्ता भएको भनि जिल्ला प्रहरी कार्यालयमा खोज तलाशका लागि निवेदन परेको पनि विष्टले बताउनुभयो ।

सोही आधारमा खोजतलाश गर्दा २९ जना फेला परेको र बाँकी २४ जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हराएका मध्ये २५ जना महिला, १९ जना बालिका, ४ जना बालक र ५ जना जेष्ठ नागरिक रहेका थिए, जसमध्ये ११ जना महिला, १३ जना बालिका, ३ जना बालक र २ जना जेष्ठ नागरिक फेला परेका थिए । 

प्रहरीले अझै पनि १४ जना महिला, ६ जना बालिका, एक जना बालक र ३ जना जेष्ठ नागरिकको खोजी गरिरहेको निमित्त सूचना अधिकारी विष्टले बताउनुभयो । 

सोही प्रकारले बाँकेमा गत चैत महिनामा घरेलु हिंसा र झैं झगडाका ६८ वटा उजुरी परेकोमा ५२ वटा उजुरीमा दुबै पक्षबिच मिलापत्र गराएर पठाएको तथा अन्यको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

यसैगरी सोही अवधीमा जिल्लामा जघन्य, गम्भीर र सामान्य अपराधका २०१ वटा मुद्दा दर्ता भएकोमा १७१ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको पनि जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।