गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख ५ गते । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले युवा सहभागिता, समावेशिता, विकास, जलवायु र डिजिटल रूपान्तरणका विषयमा विश्वभरिका सांसद एकताबद्ध हुनुपर्ने बताउनुभएको छ । उहाँले विश्व भूराजनीतिक प्रतिस्पर्धा, द्वन्द्व, जलवायु परिवर्तन, आर्थिक सङ्कट, असमानता र युवा बेरोजगारी जस्ता बहुआयामिक चुनौतीसँग जुधिरहेको उल्लेख गर्नुभयो ।
टर्कीको इन्तानबुलमा बुधबारदेखि सुरु भएको अन्तरव्यवस्थापिका सङ्घ (आइपियु) को १५२ औँ महासभालाई बिहीबार बेलुकी सम्बोधन गर्दै अध्यक्ष दाहालले बहुआयामिक चुनौतीको सामना गर्न सामूहिकता, दूरदर्शिता र समावेशितामा आधारित समाधान आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “जनप्रतिनिधिका रूपमा हामीले आज गर्ने निर्णयले भोलिका पुस्ताको भविष्य निर्धारण गर्नमा महत्वपूर्ण योगदान पु¥याउने छन् ।” अध्यक्ष दाहालले समावेशिता लोकतन्त्रको आधार भएको उल्लेख गर्दै नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सफल अभ्यास गर्दै संविधानमा सीमान्तकृत समुदायको प्रतिनिधित्व सुनिश्चित गरेको बताउनुभयो । उहाँले जलवायु परिवर्तनलाई विश्वकै गम्भीर चुनौतीका रूपमा औँल्याउनुभयो ।
नेपाल जस्ता कार्बन न्यून उत्सर्जन गर्ने तर उच्च जोखिममा रहेका देशका लागि जलवायु न्याय सुनिश्चित गर्न उहाँले आग्रह गर्नुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “हिमाली क्षेत्रमा तापक्रम वृद्धि, हिमनदी पग्लिने र हिमताल फुट्ने जोखिम बढ्दै गएको र यसको असर जनजीविका र जैविक विविधतामा परेको छ ।” उहाँले आशा, शान्ति र न्याय एकअर्कासँग अन्तरसम्बन्धित आधारस्तम्भ भएको उल्लेख गर्दै बहुपक्षीय सहकार्यमार्फत सुरक्षित, समृद्ध र गरिमामय भविष्य निर्माण गर्न विश्व समुदायलाई आह्वान गर्नुभयो । डिजिटल रूपान्तरण र कृत्रिम बुद्धिमत्ताको तीव्र विकासले अवसरसँगै चुनौती पनि ल्याएको उल्लेख गर्दै अध्यक्ष दाहालले डिजिटल विभाजन घटाउन अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकता औँल्याउनुभयो । वैशाख २ गतेदेखि सुरु भएको महासभा वैशाख ७ गतेसम्म चल्ने छ । महासभाको मूल नारा ‘आशाको संवर्धन, शान्तिको सुनिश्चितता र भावी पुस्ताका लागि न्याय’ रहेको छ ।