• ५ वैशाख २०८३, शनिबार

चखौरामा रैथाने स्वादको महोत्सव, गाउँतिर बढ्दो आकर्षण

blog

महोत्सव स्थलको अवलोकन गर्दै दर्शकहरू। तस्बिरः सन्तोष दहित

सन्तोष दहित
दाङ, चैत ५ गते ।
जिल्ला सदरमुकामबाट करिब ३६ किलोमिटर र तुलसीपुर शहरदेखि करिब ११ किलोमिटर टाढा गाउँको खुला प्राङ्गणमा लस्करै २० वटा टेन्ट टाँगिएका छन्। वैशाखको गर्मीको कुनै प्रवाह नगरी स्थानीयहरू उत्साहका साथ रैथाने परिकार बनाउन व्यस्त देखिन्छन्।

कोही ढिक्री बनाउँदै छन् भने कोही अनडीको रोटी, घोङ्घी र मासुका विभिन्न परिकार तयार पारिरहेका छन्। त्यस्तै सेलरोटी, योमरी, चाकु, लाखामारी, छोयला लगायतका परिकार पनि बनाइँदै छन्। गुरुङ समुदायले पनि आफ्ना परम्परागत परिकार तयार पारिरहेका छन्। यो दृश्य दंगीशरण गाउँपालिका–३, चखौरास्थित थारु सांस्कृतिक संग्रहालयको प्राङ्गणको हो।

परम्परागत तथा रैथाने परिकारको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटन डिभिजन कार्यालय, कोहलपुर (बाँके) को सहयोग तथा थारु सांस्कृतिक केन्द्रको सहकार्यमा वैशाख ४ देखि ६ गतेसम्म तीनदिने रैथाने खाना महोत्सव आयोजना गरिएको हो।

महोत्सवमा थारु समुदायसँगै नेवार, गुरुङ, मगर लगायत विभिन्न समुदायका रैथाने परिकारहरू एकै स्थानमा प्रस्तुत गरिएका छन्। महोत्सवस्थलमा कतै ढिक्री र अनडीको रोटी लिइरहेका छन् भने कतै घोङ्घी, बंगुरको मासु, लोकल भाले, सिध्रा तथा झिँगा माछाका परिकारको स्वाद लिन शहरबाट आउनेहरूको भीड बढ्दो छ। गाउँमै सीमित रहेका यी परिकार बजारसम्म पुग्दा स्थानीयमा उत्साह थपिएको छ।

दंगीशरण–३ की रामकली चौधरीले गाउँका महिलासँग मिलेर डंगौरा थारु खानाका टेन्ट सञ्चालन गर्दै परिकार बिक्री गरिरहनुभएको छ। “हामीले बनाएका परिकारले राम्रो बजार पाएका छन्,” उहाँले भन्नुभयो, “यसले भविष्यमा व्यवसायको सम्भावना देखाएको छ।”

त्यस्तै, प्यारी चौधरीले पनि अपेक्षाभन्दा बढी बिक्री भएको अनुभव सुनाउँदै थारु परिकारको व्यवसायिक सम्भावना उजागर भएको बताउनुभयो।

पर्यटन डिभिजन कार्यालय, कोहलपुरका निमित्त कार्यालय प्रमुख मुक्ति प्रसाद पाण्डेले महोत्सवले लोपोन्मुख रैथाने परिकारको संरक्षण र प्रचारप्रसारमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। “यसले स्थानीय परिकारलाई व्यवसायिक बनाउने मार्ग पनि खोल्नेछ,” उहाँले भन्नुभयो।

रैथाने स्वाद लिन तुलसीपुरबाट आउनुभएका डा. नहकुल केसीले यस्तो कार्यक्रमले स्थानीय समुदायको आर्थिक उन्नतिमा योगदान पुर्‍याउने बताउनुभयो। उहाँका अनुसार रैथाने परिकारलाई पर्यटन र व्यवसायसँग जोड्न सके ग्रामीण बस्तीको अर्थतन्त्र सुदृढ गर्न सकिन्छ। यस्तै, घोराहीबाट पुग्नुभएका धुव्र ठकुरीले रैथाने परिकारलाई होमस्टेसँग जोडेर व्यवसायिक विस्तार गर्न सकिने धारणा व्यक्त गर्नुभयो।

महोत्सवमा एक सयभन्दा बढी परिकार प्रदर्शन तथा बिक्रीका लागि राखिएको थारु सांस्कृतिक केन्द्रकी उपाध्यक्ष शान्ता चौधरीले जानकारी दिनुभयो। साथै हस्तकला प्रदर्शनी र सांस्कृतिक कार्यक्रमले महोत्सवलाई थप आकर्षक बनाएको छ। रैथाने स्वादसँगै संस्कृति र सम्भावनाको संगम बनेको यो महोत्सवले स्थानीय जीवनशैलीलाई नयाँ पहिचान दिने अपेक्षा गरिएको छ।