• ५ वैशाख २०८३, शनिबार

उपमहानगरपालिकाको कडाइ

फुटपाथ खाली हुँदै इरिक्सा नियमनमा

blog

बुटवल उपमहानगरपालिका घेराउ गर्न पुगेका इरिक्सा व्यवसायी ।

बुटवल समाचारदाता

बुटवल, वैशाख ५ गते । बुटवल उपमहानगरपालिकाले सहरलाई व्यवस्थित र पैदलयात्रीमैत्री बनाउने उद्देश्यसहित तीन वर्षपछि फेरि फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु गरेको छ । त्यसका साथसाथै नगरपालिकाभित्र विद्युतीय रिक्सा (इरिक्सा) व्यवस्थापनलाई पनि कडाइका साथ लागु गर्ने तयारी गरिएको छ ।

भुड्की चोकबाट डोजर चलाएर सुरु गरिएको अभियान अमरपथ, राममन्दिर लाइन हुँदै हाटबजार क्षेत्रमा विस्तार भइरहेको छ । नगरप्रमुख खेलराज पाण्डेले पटक पटकको आग्रहलाई बेवास्ता गरेपछि बाध्य भएर कडा कदम चालिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सडकपेटी पैदलयात्रीका लागि सुरक्षित हुनु पर्छ, कसैको अनुहार हेरेर कानुन कार्यान्वयन रोकिँदैन ।”

उपप्रमुख सावित्रादेवी अर्यालसमेत टोलीसहित सडकमा उत्रिएर अनुगमन गरिरहनुभएको छ । फुटपाथ कब्जा गरी गरिने व्यापारले बजार अस्तव्यस्त बनेको र सर्वसाधारणलाई पैदल हिँड्नै कठिन भएको भन्दै उपमहानगरले यसलाई दीर्घकालीन रूपमा समाधान गर्ने लक्ष्य लिएको जनाएको छ ।

यसअघि पनि २०७९ मङ्सिरमा यस्तै अभियान सुरु गरिए पनि बिचमै रोकिएको थियो । त्यसयता मौन प्रायः रहेको उपमहानगर यस पटक भने अभियानलाई निरन्तरता दिने योजनामा छ । 

फुटपाथ अतिक्रमणसँगै बुटवलमा इरिक्सा व्यवस्थापन पनि ठुलो चुनौती बनेको छ । उपमहानगरले २०७६ मा बनाएको कार्यविधि अनुसार सीमित सङ्ख्यामा मात्रै इरिक्सा सञ्चालन गर्नुपर्ने व्यवस्था भए पनि कार्यान्वयन कमजोर रहँदै आएको छ । हाल दर्ता भएका एक हजार ४४० वटा इरिक्सा मात्रै सञ्चालन गर्नुपर्ने माग गर्दै व्यवसायीले बिहीबार ¥याली र धर्ना कार्यक्रमसमेत गरेका थिए ।

हरियाली यातायात प्रालिका अध्यक्ष तथा संयुक्त इरिक्सा सङ्घर्ष समितिका संयोजक कृष्णप्रसाद तिवारीले कार्यविधि कार्यान्वयन नभएकै कारण बजारमा अनियन्त्रित रूपमा इरिक्सा बढेको बताउनुभयो । दर्ताबाहेकका सवारी सञ्चालनमा रोक लगाउनुपर्ने उहाँको माग छ ।

उपप्रमुख अर्यालले व्यवसायीको मागप्रति सकारात्मक रहेको जनाउँदै कार्यविधि अनुसार नै इरिक्सा व्यवस्थापन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “केही दिनभित्र सार्वजनिक सूचना जारी गरेर दर्ता नभएका इरिक्सा हटाउने प्रक्रिया अघि बढाउँछौँ ।” प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालका अनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार नगरभित्र चल्ने विद्युतीय सवारी व्यवस्थापन गर्ने अधिकार प्रयोग गर्दै कडाइका साथ कार्यान्वयन गरिने छ ।

बुटवलमा फुटपाथ र सवारी व्यवस्थापनका लागि यसअघि पटक पटक प्रयास भए पनि व्यवसायीको अटेरी र कमजोर नियमनका कारण अपेक्षित सफलता मिल्न सकेको छैन । यस पटक भने उपमहानगरले कडाइका साथ अभियान अघि बढाउने जनाएको छ ।

सहरलाई व्यवस्थित, सुरक्षित र व्यवस्थित यातायातयुक्त बनाउने लक्ष्यसहित सुरु गरिएको यो अभियान प्रभावकारी रूपमा कार्यान्वयन भए मात्र बुटवलको दीर्घकालीन व्यवस्थापनमा सकारात्मक परिवर्तन आउने देखिन्छ ।