नवराज कट्टेल
विराटनगर, वैशाख ५ गते । विराटनगर महानगरपालिका–६ का सरोचिया टोल निवासी असरद हुसैनको घरमा नेपाल खानेपानी संस्थान अन्तर्गत जडान भएको धारा छ । मासिक रूपमा न्यूनतम महसुल बुझाउनुपर्ने बिल पनि आइरहेको छ । सात वर्षयता धारामा पानी भने थोपो झरेको छैन ।
२०७६ सालमा यो टोलको सडक मर्मत भएको थियो । त्यस क्रममा पानीको पाइप टुट्यो । १० घरका लागि जडान भएको पाइप सडक निर्माणका क्रममा टुटेपछि पुनः जडान भएको छैन । सात वर्षसम्म पानी आपूर्ति प्रणाली मिलाउन नसकेको नेपाल खानेपानी संस्थान, विराटनगर कार्यालयले मासिक रूपमा न्यूनतम ११० रुपियाँको बिल भने घर घरमा पठाइरहेको छ । हर्जानाका डरले पानी पिउन नपाए पनि पैसा बुझाउनुपर्ने बाध्यता रहेको हुसैन बताउनुहुन्छ ।
स्थानीय नैन मियाँका अनुसार कोरानाले बाहिर निस्कन नसक्ने स्थिति थियो । सडक मर्मतको कामसमेत आलटालसँग भइरहेका बेला पाइप टुट्यो । त्यसपछि बारम्बार पानी आपूर्ति प्रणाली सहज बनाउन माग गर्दासमेत संस्थानले कहिल्यै ध्यान नदिएको उहाँ बताउनुहुन्छ ।
विराटनगर खानेपानी सुधार आयोजना अन्तर्गत नयाँ पाइप विस्तारको काम अन्तिम चरणमा पुगेको छ । विराटनगर महानगरपालिकाभित्र ५८ किलोमिटर दुरीमा पानी आपूर्ति प्रणालीका लागि नयाँ पाइप जडान भइरहेको समयमा समेत संस्थानले सात वर्षदेखि महसुल उठाइरहेको, सरोचिया टोलमा पनि पाइप विस्तार गर्ने योजनामा नसमेटको गुनासो स्थानीयको छ ।
स्थानीयले बारम्बार पानी आपूर्ति प्रणाली मिलाउन आग्रह गर्दा संस्थानले भने तत्काल काम भइहाल्ने आश्वासन दिने गरेको आरोप छ । मो. आरिफ हुसैनका अनुसार अहिले यी १० घरले चापाकल प्रयोग गर्नु परेको छ । चापाकलको पानीमा आर्सेनिक देखिएका कारण जारको पानी मगाएर दैनिक पिउनुपर्ने बाध्यता छ ।
नेपाल खानेपानी संस्थान विराटनगरका प्रमुख सन्तोष रौनियारले स्थानीयले भने जस्तो गुनासो अहिलेसम्म नआएको दाबी गर्नुभयो । उहाँले स्थानीयले महसुल भुक्तानी गरिरहेको तर पानी नपाएको अवस्था रहेको भए तत्काल समस्या समाधान गरिने उहाँको भनाइ छ । लेखा अधिकृत पदमहरी राईले भने समस्याग्रस्त धाराको सूचीमा रहेका धाराको न्यूनतम महसुल असुल हुँदै आएको बताउनुहुन्छ ।