हरिप्रसाद कोइराला
उर्लाबारी, वैशाख ५ गते । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङले निष्पक्ष, जिम्मेवार र पारदर्शी पत्रकारितामा जोड दिँदै भ्रामक समाचार प्रकाशन नगर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ।
मोरङको उर्लाबारीस्थित सञ्चार क्लब नेपाल, उर्लाबारीको २२औँ वार्षिक साधारणसभाको उद्घाटन तथा पत्रकारहरूलाई पुरस्कार प्रदान गर्दै उहाँले यस्तो बताउनुभएको हो। स्वतन्त्र प्रेस लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै प्रेसमाथि अंकुश लागे निरंकुशता जन्मने उहाँले बताउनुभयो।
संविधानले दिएको अधिकारलाई स्थापित गर्न समानुपातिक र समावेशी व्यवस्थालाई अझ सुदृढ बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो। स्वतन्त्र प्रेसले मात्र गणतन्त्रलाई बलियो बनाउने उल्लेख गर्दै नीति निर्माण तहमा सबैको प्रतिनिधित्व सुनिश्चित गर्न समावेशिता र समानुपातिक व्यवस्था आवश्यक रहेको उहाँले जोड दिनुभयो।
उर्लाबारी नगरपालिकाका नगर प्रमुख गङ्गाप्रसाद खरेलले प्रदेश र स्थानीय तहबिच स्पष्ट कार्यविभाजन र सहकार्य आवश्यक रहेको औंल्याउनुभयो। एउटै योजनामा तीन तहका सरकारबाट बजेट विनियोजन हुँदा कार्यान्वयनमा समस्या देखिएको उहाँको भनाइ थियो।

सोही अवसरमा सञ्चार क्लबले चार जना पत्रकारलाई पुरस्कार प्रदान गरेको छ। सञ्चार क्लब पत्रकारिता पुरस्कारबाट पथरीशनिश्चरेबाट प्रकाशित ‘क्रेजी डटकम’ साप्ताहिकका सम्पादक–प्रकाशक सन्तोष राई सम्मानित हुनुभएको छ। दुर्गाराज पोमु (लिम्बू) स्मृति पत्रकारिता पुरस्कार अलकापुरी नेपाल साप्ताहिकका सम्पादक–प्रकाशक दुर्गाप्रसाद खतिवडालाई प्रदान गरिएको छ।
त्यसैगरी, लीला गोमा आचार्य स्मृति पत्रकारिता पुरस्कार नयाँ खबर अनलाइन, मिक्लाजुङका सञ्चालक सन्तोष गौतमलाई तथा दाताराम–पद्मावती खतिवडा स्मृति पत्रकारिता पुरस्कार स्वतन्त्र पत्रकार केशव निरौलालाई प्रदान गरिएको छ। चारवटै पुरस्कारको राशि जनही १० हजार एक रुपियाँ रहेको छ।
क्लबले विभिन्न अक्षयकोषमा योगदान पुर्याउने तीन जनालाई समेत सम्मान गरेको छ। सम्मानित हुनेमा दुर्गाप्रसाद खतिवडा, जयधर्म आचार्य र लोलिम पोमु रहेका छन्।
कार्यक्रममा उर्लाबारी उद्योग वाणिज्य सङ्घका अध्यक्ष तारामान सेरेङ तथा नेकपा उर्लाबारी नगर कमिटी अध्यक्ष गजेन्द्र दङ्गाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
यसैगरी कार्यक्रममा उर्लाबारी–६ का वडाध्यक्ष चिन्तामणि पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्ष उमेशजङ्ग थापा, नेकपा (एमाले)का नगर उपाध्यक्ष सुरेश शाक्य, नेकपा नगर अध्यक्ष गजेन्द्र दङ्गाल, श्रम संस्कृति पार्टीका नगर अध्यक्ष टङ्क धिमाल, राप्रपाका नगर अध्यक्ष कृष्ण आचार्यलगायतको उपस्थिति रहेको थियो।