• ५ वैशाख २०८३, शनिबार

क्षत्रीको शब्द र निर्देशनमा ‘सधैँ तिमी’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख ५ गते । गीतकार डब्बु क्षत्रीको शब्द र निर्देशनमा नयाँ गीत ‘सधैँ तिमी’ को भिडियो सार्वजनिक भएको छ । नयाँ वर्ष २०८३ को अवसर पारेर गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतमा गायक यम बराल र गायिका सरिता भारतीको स्वर रहेको छ । 

गीतमा ओम सुनारको सङ्गीत रहेको छ । गीतको भिडियो पनि क्षत्रीले नै निर्देशन गर्नुभएको हो । निकै रिसाउने प्रेमिकासँग प्रेमीको नोकझोक र प्रेमलाई गीत र भिडियोमा प्रस्तुत गरिएको छ । गीतको भिडियोलाई बङ्गलादेशको बोगुराको पर्यटकीय क्षेत्रमा छायाङ्कन गरिएको हो । बोगुरा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी हुने क्रममा त्यहाँ गीतको भिडियो छायाङ्कन गरिएको गीतकार क्षत्रीले बताउनुभयो । गीतमा गायिका भारती र अभिनेता प्रवण भुसालको अभिनय रहेको छ । गीतलाई एसबी क्रिएसनको अफिसियल पेजबाट सार्वजनिक गरिएको हो । विलक्षण क्रियसनको प्रस्तुति रहेको गीतलाई बङ्गलादेशका छायाकार सरकार सुजनले खिच्नुभएको हो । 

गीतकार क्षत्रीका अनुसार गीतमा नेपाली मौलिक ठेट शब्द प्रयोग गरिएको छ । लोकलयमा आधारित भएका कारण पनि आफूले झर्रा शब्दलाई महत्व दिएको गीतकार क्षत्रीले बताउनुभयो ।