• ५ वैशाख २०८३, शनिबार

गोरखामा उद्योग दर्ताभन्दा खारेजी बढी

blog

गुणबहादुर रोका
सुलीकोट, वैशाख ५ गते ।
गोरखामा उद्योग तथा व्यापार दर्ताभन्दा खारेजीको संख्या पछिल्ला वर्षहरूमा उल्लेख्य रूपमा बढ्दै गएको छ। जिल्लामा नयाँ उद्योग तथा व्यापार दर्ता हुने क्रमभन्दा पहिले दर्ता भइसकेका फर्महरू खारेज गर्ने प्रवृत्ति बढी देखिन थालेको छ।

एकीकृत सेवा कार्यालय गोरखाका कार्यालय प्रमुख दशरथ शर्माका अनुसार पछिल्ला तीन वर्षका तथ्याङ्कले यही अवस्था पुष्टि गरेका छन्।

जिल्लामा युवाहरूको विदेश पलायन र दक्ष जनशक्तिको अभाव मुख्य कारणका रूपमा देखिएको छ। अहिले धेरै व्यवसायीले आफ्नो उद्योग वा व्यापार सञ्चालन गर्न आवश्यक जनशक्ति नभएको भन्दै फर्म खारेज गर्न आउने गरेका छन्। “युवाहरू विदेश गएका छन्, व्यवसाय सम्हाल्ने मान्छे छैन,” भन्ने गुनासो धेरै सुनिने गरेको उहाँले बताउनुभयो।

हाल गोरखामा विदेशबाट आउने रेमिट्यान्समा निर्भर हुने प्रवृत्ति बढ्दै जाँदा स्थानीय स्तरमा स्वरोजगार तथा उद्यमशीलता प्रति चासो घट्दै गएको देखिएको छ। यसले नयाँ व्यवसाय खोल्नेभन्दा पुराना व्यवसाय बन्द गर्ने क्रम बढाएको छ।

एकीकृत सेवा कार्यालय गोरखाका अनुसार दुई वर्षअघि १९८ वटा औद्योगिक फर्म र २०७ वटा व्यापारिक फर्म खारेज भएका थिए। गत आर्थिक वर्षमा १९० औद्योगिक र १३३ व्यापारिक फर्म खारेज भएका छन्। चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म ९० औद्योगिक र ८१ व्यापारिक फर्म खारेज भइसकेका छन्।

यसका साथै कृषि तथा पशुसेवा क्षेत्रका अनुदान कार्यक्रमको प्रभाव पनि देखिएको छ। केहीले अनुदान लिनका लागि मात्र उद्योग दर्ता गर्ने र उद्देश्य पूरा भएपछि खारेज गर्ने प्रवृत्तिले पनि खारेजीको संख्या बढाएको कार्यालयले जनाएको छ। समग्रमा गोरखामा व्यवसायिक गतिविधि घट्दै गएको संकेत यी तथ्याङ्कले स्पष्ट पारेका छन्।