काठमाडौँ, वैशाख ५ गते । काठमाडौँको प्राचीन एवं ऐतिहासिक व्यापारिक केन्द्र असन (असं) को मौलिक स्वरूप र पहिचानलाई पुनः स्थापित गर्न ‘असन मौलिकता पुनरुत्थान अभियान’ सुरु भएको छ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले शनिबार असन डबलीमा आयोजित एक विशेष समारोहका बीच यस अभियानको औपचारिक शुभारम्भ गर्नुभयो ।
अभियानको उद्घाटन अघि कमलाक्षीदेखि असनसम्म र असनदेखि भोटाहिटी, महाबौद्ध हुँदै केलटोलसम्म सांस्कृतिक बाजागाजासहित पदयात्रा गरिएको थियो । पदयात्रामा स्थानीय १३ वटा गुठी तथा परम्परागत वादन र गायन समूहका सदस्यहरूले मौलिक सांस्कृतिक झाँकी प्रदर्शन गरेका थिए । सो अवसरमा कार्यवाहक प्रमुख डङ्गोलले कमलाक्षी र महाबौद्धमा नवनिर्मित निःशुल्क 'वाटर एटीएम' बुथको समेत उद्घाटन गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डङ्गोलले असन केवल सहरी बस्ती मात्र नभई काठमाडौँको जीवन्त इतिहास भएको बताउनुभयो । "सडकमा सवारी साधनको चापका कारण हाम्रा बालबालिका घरबाहिरका प्राचीन सम्पदा र संस्कृतिसँग परिचित हुन पाएका छैनन्," उहाँले भन्नुभयो, "अमुल्य पुर्ख्यौली नासोलाई संरक्षण गर्दै पैदलयात्री, ज्येष्ठ नागरिक र बालमैत्री सहर बनाउन यो अभियान कोशेढुङ्गा सावित हुनेछ ।"
महानगरपालिकाको वडा नं. २७ को नेतृत्वमा सुरु भएको यो कार्यक्रम अब हरेक शनिबार नियमित रूपमा सञ्चालन हुनेछ । वडा नं. २७ का अध्यक्ष योगेशकुमार खड्गीका अनुसार स्थानीय क्लब, टोल सुधार समिति र गुठियारहरूको प्रत्यक्ष सहभागितामा परम्परागत ज्ञान, सीप, कला र रैथाने व्यापारिक क्रियाकलापको प्रदर्शनी गरिनेछ । अभियानलाई क्रमशः वडा नं. २५ (केलटोल) र वडा नं. ८ लगायतका अन्य क्षेत्रमा पनि विस्तार गर्ने योजना रहेको छ ।
अभियान सञ्चालन हुने समयमा असन प्रवेश गर्ने विभिन्न नाकाहरू जमल, भोटाहिटी, वीर अस्पताल, इन्द्रचोक र ज्याठा क्षेत्रबाट सवारी साधन प्रवेशमा रोक लगाइएको छ । आगन्तुकहरूका लागि धरहरा भूमिगत पार्किङ र दरबार हाईस्कुल लगायतका स्थानमा पार्किङको व्यवस्था मिलाइएको महानगरले जनाएको छ । यस अभियानले पुस्तान्तरण हुँदै गएको नेवार सभ्यता र संस्कृतिलाई जीवन्त राख्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
तस्बिर कविता थापा










