चरीकोट (दोलखा), वैशाख ५ गते । नेपाली सेनाले सङ्गठनको मेरुदण्डका रूपमा रहेका भूतपूर्व सैनिकहरूको योगदानको कदर गर्दै दोलखाको सदरमुकाम चरीकोटमा ‘भूतपूर्व सैनिक सम्मेलन–२०८२’ सम्पन्न गरेको छ । मध्यपूर्वी पृतना बर्दिवासको निर्देशन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजनमा गरुडदल गण चरीकोटले सो सम्मेलनको आयोजना गरेको हो ।
सम्मेलनको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि एवं मध्यपूर्वी पृतना बर्दिवासका सहायक रथी शरद लामिछानेले नेपाली सेनाको साङ्गठनिक सुदृढीकरणमा पूर्व सैनिकको अनुभव र त्यागको विशेष महत्त्व रहने बताउनुभयो । उहाँले सैनिक सेवाबाट निवृत्त भए पनि समाजको सकारात्मक रूपान्तरण र राष्ट्रिय सुरक्षामा उनीहरूको भूमिका सधैँ प्रशंसनीय रहने उल्लेख गर्नुभयो ।
सो अवसरमा सहायक रथी लामिछानेले दोलखाको मेलुङ गाउँपालिका–५, डाँडाखर्ककी १०२ वर्षीया शताब्दी महिला पदमकुमारी खड्कालाई विशेष सम्मान प्रदान गर्नुभयो । यस्तै, कार्यक्रममा मानवीय संवेदना र सेवालाई प्राथमिकता दिँदै अपाङ्गता भएका पाँच जना भूतपूर्व सैनिकलाई ह्विलचियर, एक जनालाई बैशाखी र तीन जनालाई लौरो वितरण गरिएको थियो ।
गरुडदल गणका गणपति प्रमुख सेनानी लोकसागर कटुवालले राष्ट्रको सुरक्षा र अखण्डताका लागि आफ्नो उर्वर उमेर समर्पण गरेका पूर्व सैनिकहरूलाई सम्मान गर्नु सेनाको गौरवपूर्ण परम्परा रहेको बताउनुभयो । उहाँका अनुसार सम्मेलनले पूर्व र वर्तमान सैनिकहरूबिचको आपसी भाइचारा र एकतालाई थप बलियो बनाएको छ ।

सम्मेलनमा सहभागी १ हजार ३५७ जना पूर्व सैनिकहरूलाई दैनिक भ्रमण भत्ताका साथै मण्डी, सल, झोला र फटिग क्याप जस्ता सामग्री वितरण गरिएको थियो । दोलखा जिल्लाभर रहेका २ हजार ५३५ जना भूतपूर्व सैनिकमध्ये आधाभन्दा बढीको सहभागिता रहेको यस कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धर, सहायक प्रमुख जिल्ला अधिकारी औलखबहादुर आलेसहित सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।