• ५ वैशाख २०८३, शनिबार

सिदिङ्वाका महिलालाई ढाका बुनाई तालिम

blog

ढाका बुनाई तालिमका प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिँदै ।

चन्द्र पन्दाक

ताप्लेजुङ, वैशाख ५ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका महिलालाई स्वरोजगार बनाउने उद्देश्यले ढाका कपडा बुनाई तालिम प्रदान गरिएको छ । व्यावसायिक सीप विकास तालिम केन्द्र भद्रपुर, झापाको आयोजना तथा सिदिङ्वा गाउँपालिकाको समन्वय र साझेदारीमा सो तालिम सम्पन्न भएको हो ।

गाउँपालिकाको उद्यम विकास शाखा प्रमुख पुष्पकला वाग्लेका अनुसार पालिकाका विभिन्न वडाका १५ जना महिलालाई ६५ दिने आधारभूत ढाका बुनाई सम्बन्धी सीप सिकाइएको छ । तालिमका लागि आवेदन दिएका इच्छुक महिलाहरूलाई छनोट गरी प्रशिक्षणमा सहभागी गराइएको शाखा प्रमुख वाग्लेले जानकारी दिनुभयो ।

गत शुक्रबार सम्पन्न सो तालिममा सहभागीहरूलाई व्यावसायिक सीप विकास तालिम केन्द्रकी प्रशिक्षक सरस्वती कट्टेलले प्रशिक्षण दिनुभएको थियो । तालिम समापनका अवसरमा आयोजित एक कार्यक्रमका बीच प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको छ ।

गाउँपालिका अध्यक्ष मानबहादुर राई, उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दना) र निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारीले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । सो अवसरमा उपाध्यक्ष कडरियाले सीप सिकेर आफ्नै उद्यम गर्न इच्छुक महिलाहरूलाई लक्षित गरी यो तालिम सञ्चालन गरिएको बताउनुभयो । तालिमले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै महिलाहरूको आर्थिक अवस्था सुधारमा सहयोग पुग्ने विश्वास पालिकाले लिएको छ ।