काठमाडौँ, वैशाख ६ गते । आइसिसी विश्वकप लिग–२ को तयारीमा रहेको नेपालले विश्वकपअघि संयुक्त अरब इमिरेट्स (युएई)सँग अन्तर्राष्ट्रिय टी–२० सिरिज खेल्ने भएको छ ।
नेपाल र युएईबिच वैशाख ७ र ८ गते सिरिज हुन लागेको हो । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सिरिजको तयारी पूरा गरिसकेको छ । त्रिवि मैदान कीर्तिपुरमा हुने सिरिज फ्लडलाइटमा हुने छ ।
यससँगै नेपालमा रातको समयमा पहिलो पटक फ्लडलाइटमा अन्तर्राष्ट्रिय प्रतियोगिता हुन लागेको हो । यसअघि क्यानले घरेलु मैदानमा नेपाल प्रिमियर लिग (एनपिएल) फ्लडलाइटमा खेलाएको थियो ।
क्यानले पहिलो पटक टी–२ क्रिकेटको कप्तान छुट्टै बनाएको छ । क्यानले युएईसँगको टी–२० सिरिजका लागि दीपेन्द्र सिंह ऐरीको कप्तानीमा टोली घोषणा गरेको हो ।
नियमित कप्तान रोहितकुमार पौडेललाई कार्यबोझ व्यवस्थापनका लागि आराम दिइएकाले ऐरीलाई टी–२० टोलीको जिम्मेबारी सुम्पिएको पनि क्यानले जनाएको छ ।
टोलीमा कप्तान ऐरीसहित सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, लोकेश बम, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, शाहब आलम र शेर मल्ल रहेका छन् । यस्तै वैकल्पिक खेलाडीका रूपमा प्रतिश जिसी, नारायण जोशी र राशिद खान हुनुहुन्छ ।
यस सिरिजपछि नेपालले घरेलु मैदानमा वैशाख १२ देखि २२ गतेसम्म ओमान र संयुक्त अरब इमिरेट्स (युएइए) तथा वैशाख २९ देखि ८ गतेसम्म अमेरिका र स्कटल्यान्डसँग आइसिसी विश्वकप लिग–२ को सिरिज खेल्ने तय भएको छ । नेपाल, ओमान र युएईसम्मिलित सिरिज यसअघि अमेरिका र इरान यद्धका कारण खाडीमा देखिएइको सङ्कटाका कारण रोकिएको थियो ।