काठमाडौँ, वैशाख १० गते । विभागीय टोली नेपाल पुलिस क्लब र एपिएफ क्लबले १०औँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा महिलातर्फ विजयी सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा बिहीबारदेखि सुरु भएको प्रतियोगितामा पुलिसले बुटवलको एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा हरायो । पुलिसले २६–२४, २५–१६, २५–१७ को जित निकालेको हो ।
यस्तै अर्को खेलमा एपिएफले विभागीय अर्को टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हरायो । एपिएफले २५–२३, १७–२५, २५–१९, २५–१९ को नतिजा निकालेको हो ।
वैशाख १९ गतेसम्म सञ्चालन हुने लिगमा पुरुषतर्फ आठ र महिलातर्फ छ गरी कुल १४ टोलीको सहभागिता रहेको छ । पुरुषतर्फ हेल्प नेपाल, त्रिभुवन आर्मी, नेपाल प्रहरी, एपिएफ, खिल्जी युवा क्लब (लुम्बिनी), पश्चिम रुकुम, कोशी प्रदेश र बुढानीलकण्ठ क्लब सहभागी छन् । महिलातर्फ न्यु डायमन्ड, नेपाल प्रहरी, एपिएफ, सुदूरपश्चिम, एभरेस्ट क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
एक करोड १५ लाख रुपियाँ लागत रहेको लिगको विजेताले १० लाख, उपविजेताले पाँच लाख र तेस्रो हुने टोलीले दुई लाख ५० हजार रुपियाँ पाउने छन् । यस्तै सर्वोत्कृष्ट खेलाडीलाई ६० हजार तथा उत्कृष्ट सर्भर, ब्लकर, लिवेरो, स्पाइकर, सेटर र प्रशिक्षकलाई जनही ३० हजार रुपियाँ प्रदान गरिने छ ।