काठमाडौँ, वैशाख २६ गते । नेपाल ‘ए’ ले एकदिवसीय अभ्यास खेलमा लगातार तेस्रो जित निकालेको । मुलपानी मैदानमा शनिबार वर्षाले प्रभावित खेलमा नेपाल ‘ए’ ले स्कटल्यान्डलाई डिएलएस प्रणालीका आधारमा नौ रनले हरायो ।
जितका लागि तीन सय तीन रनको विशाल लक्ष्य पछ्याएको नेपालले ३४.५ ओभरमा चार विकेटको क्षतिमा दुई सय चार रन बनाउँदा पानी परेको थियो ।
त्यसपछि खेल हुन नसक्दा नेपाल डिएलएसका आधारमा विजयी भएको हो । नेपालका लागि सन्दीप जोराले अविजित ८३ रन बनाउनुभयो । उहाँले ९४ बलमा नौ चौका हान्नुभयो ।
यस्तै इशान पाण्डेले ५०, त्रितराज दासले २४, बसिर अहमदले २० र मयान यादवले १२ रन बनाउनुभयो । बलिङमा स्कटल्यान्डका ओलिभर डेभिडसन, मिचेल लिस्क, ब्राडली क्युरी र मार्क वाटले एक एक विकेट लिनुभयो ।
यसअघि पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ५० ओभरमा आठ विकेटको क्षतिमा तीन सय दुई रन बनाएको थियो । स्कटल्यान्डका लागि जर्ज मुन्सेले सर्वाधिक ६२ रन बनाउनुभयो ।
यस्तै माइकल इङ्लिस अविजित ५६, रिची बेरिङ्टनले ४०, ब्रान्डन मकमलेनले ३९, ज्याक जार्भिस र फिन्ले म्याकक्रेथले समान ३०/३० रन बनाउनुभयो ।
बलिङमा नेपालका आकाश चन्दले तीस्न विकेट लिनुभयो । शेर मल्ल, विपिन खत्री, पवन सरार्फ र कुशल मल्लले एक एक विकेट लिनुभयो ।
यसअघि नेपाल ‘ए’ ले स्कटल्यान्डलाई ४५ रन र अमेरिकालाई तीन विकेटले हराएको थियो । अब नेपाल ‘ए’ ले सोमबार अमेरिकासँग खेल्नेछ।