• १६ वैशाख २०८३, बुधबार

विश्वकप लिग–२ : नेपाल ओमानसँग स्तब्ध

blog

ब्याटिङ गर्दै दीपेन्द्र सिंह ऐरी । तस्बिर : क्यान

काठमाडौँ, वैशाख १६ गते । आइसिसी विश्वकप लिग–२ क्रिकेट अन्तर्गत नेपाल ओमानसँग एक सय दुई रनले पराजित भएको छ ।

त्रिवि क्रिकेट मैदानमा बुधबार वर्षाले प्रभावित खेलमा नेपाल ओमानसँग डिएलएस प्रणालीका आधारमा स्तब्ध बनेको हो । 

जितका लागि तीन सय ६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले ३६.५ ओभरमा सात विकेटको क्षतिमा एक सय ५५ रन जोड्दा खेल वर्षाका कारण रोकिएको थियो । 

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ्स खेल्नुभयो । ६० रन बनाउनुभएका ऐरीले ६२ बलमा सात चौका एक छक्का हान्नुभयो ।

यस्तै भीम सार्कीले २८, आशिफ शेखले १९, आरिफ शेखले १४, कप्तान रोहित पौडेलले १०, गुलशन झाले अविजित १४ र सोमपाल कामीले दुई रन बनाउनुभयो । 

बलिङमा ओमानका नदीम खानले तीन विकेट लिनुभयो । यस्तै सकिल अहमदले दुई तथा मोहम्मद इमरन र वासिम अलीले एक एक विकेट लिनुभयो । यसअघि टस जितेर ब्याटिङ रोजेको ओमानले ५० ओभरमा आठ विकेटको क्षतिमा तीन सय पाँच रन बनाएको थियो । 

ओमानका लागि कप्तान जतिन्द्र सिंहले शतकीय पारी खेल्नुभयो । उहाँले ९६ बलमा एक ३० रन बनाउनुभएको हो । जसमा १५ चौका र पाँच छक्का समावेश थियो ।

यस्तै जितेन रमानन्दीले ४३, आर्यन विष्टले ३५,  हमम्मद मिर्जाले ३०, विनायक शुक्ला र आशिष ओडेडराले २३, २३ तथा वासिम अलीले १२ रन बनाउनुभयो ।

बलिङमा नेपालका सोमपाल कामीले चार विकेट लिनुभयो । उहाँले नौ ओभर बलिङ गर्दै ५९ रन दिएर चार विकेट लिनुभएको हो । सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले दुई, दुई विकेट लिनुभयो ।

जितसँगै २६ खेलबाट ३१ अङ्क बनाएको ओमान तेस्रो स्थानमा छ । २२ खेल सकेको नेपाल १४ अङ्कसहित सातौँ स्थानमा छ ।