शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
जनार्जन खत्री
सर्लाही, वैशाख १६ गते । सर्लाहीको बागमतीस्थित भरत ताल नजिकै मानव कङ्काल फेला परेको छ । बागमती नगरपालिका–१२, मा भरत तालदेखि उत्तरतर्फ ढुङ्गा, गिट्टी थुपारिएको स्थानमा कङ्काल बनिसकेको अवस्थामा शव फेला परेको हो । घाँस काट्न जाने मानिसहरुले मानव कङ्काल देखेपछि प्रहरीमा खबर गरेका थिए ।
टाउको छुट्टिएको र शरीर पनि पूर्णरुपमा क्षतविक्षत अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । कपडा हेर्दा पुरुषको शव जस्तो देखिएको बताइएको छ ।
उक्त मानव कङ्काल पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ । मृतकको पहिचान खुलाउन अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीले जानकारी दिनुभयो ।