हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), वैशाख १६ गते । मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङले बताउनुभयो ।
लोमन्थाङका समाजसेवी तथा सामाजिक क्षेत्रमा सक्रिय विष्ट २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो ।
स्वर्गीय विष्टको आन्द्रामा समस्या देखिएपछि शल्यक्रिया गरिएको थियो । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदानका लागि गाउँ आउनुभएका विष्ट त्यसपछि अचानक बिरामी भई उपचारका लागि काठमाडौँ जानुभएको थियो ।
वडाध्यक्ष विष्टको निधनप्रति गाउँपालिकाले बुधबार एक दिन शोक बिदा दिएको छ भने आधा झण्डा झुकाइएको छ । गाउँपालिकाले उहाँको निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।