• १६ वैशाख २०८३, बुधबार

विद्यार्थी भर्ना बढाउन शिक्षकको घरदैलो अभियान

blog

भगवती माविका शिक्षकहरू घरदैलो अभियान गर्दै । तस्बिर : कुलबहादुर शाही

कुलबहादुर शाही
जाजरकोट, वैशाख १६ गते ।
जिल्लाका सामुदायिक विद्यालयहरूले विद्यार्थी संख्या बढाउन घरदैलो अभियान सुरु गरेका छन् । मङ्गलबारदेखि नयाँ शैक्षिक सत्र सुरु भएसँगै जाजरकोटका विद्यालयहरूले विद्यार्थी भर्ना दर वृद्धि गर्ने उद्देश्यले घरदैलो अभियान थालेका हुन् । भेरी नगरपालिका–१३ कुदुस्थित श्री भगवती माध्यमिक विद्यालयले मङ्गलबारदेखि औपचारिक रूपमा घरदैलो अभियान सुरु गरेको जनाएको छ ।

विद्यालयकी शिक्षिका ज्योति कार्कीले विद्यार्थी संख्या घट्दै गएको र बालबालिका विद्यालयबाट वञ्चित नहुन् भन्ने उद्देश्यले अभियान सुरु गरिएको बताउनुभयो । “नजिकै दुई वटा बोर्डिङ र तीन वटा प्रावि विद्यालय भएकाले हाम्रो विद्यालयमा विद्यार्थी संख्या कम छ,” उहाँले भन्नुभयो, “त्यसैले हामी घरघरमै पुगेर भर्ना गराइरहेका छौँ ।”

विद्यालयका शिक्षक, कर्मचारी र व्यवस्थापन समितिका पदाधिकारी मिलेर पहिलो चरणमा एक वडामा मात्र घरदैलो गरिएको उहाँको भनाइ छ । उहाँका अनुसार पहिलो दिनमै अभियानबाट गत वर्ष भर्ना नभएका करिब सात जना विद्यार्थी भर्ना भएका छन् ।

विद्यालयले आगामी दिनमा अन्य वडामा पनि अभियान विस्तार गर्ने तयारी गरेको छ । साथै अभिभावकलाई विद्यालयमा प्रदान गरिने गुणस्तरीय शिक्षाबारे जानकारी गराइएको छ । शिक्षिका कार्कीका अनुसार सामुदायिक विद्यालयप्रति अभिभावकको घट्दो विश्वास बढाउन घरदैलो अभियान आवश्यक भएको हो । गत वर्ष यस विद्यालयमा ३१९ जना विद्यार्थी अध्ययनरत थिए । यस वर्ष विद्यार्थी संख्या बढ्ने अपेक्षा गरिएको विद्यालयले जनाएको छ ।