• १५ वैशाख २०८३, मङ्गलबार

१९ हजारका लागि बहिनीको कङ्काल बोकेर बैँक पुगे दाजु

बैँकले खातावालालाई नै उपस्थित गराउन भनेपछि बहिनीको कङ्काल लिएर पुगे दाजु

blog

तस्बिरः टाइम्स अफ इन्डिया

ओडिशा, वैशाख १५ गते । भारतको ओडिशा राज्यस्थित केन्दुझार जिल्लामा मानवीय संवेदनालाई नै स्तब्ध बनाउने एउटा घटना सार्वजनिक भएको छ । स्थानीय एक ग्रामीण बैँकले आफ्नी मृत बहिनीको खातामा रहेको रकम भुक्तानी दिन अस्वीकार गरेपछि एक व्यक्तिले चिहान खनेर बहिनीको अस्थिपञ्जर नै बैँक पुर्‍याएका हुन् ।

टाइम्स अफ इन्डियाका अनुसार, केन्दुझार जिल्लाको डियानाली गाउँका ५० वर्षीय जितु मुण्डाले आफ्नी दिदी कालरा मुण्डाको खातामा रहेको १९ हजार ३०० भारु निकाल्न पटक–पटक बैँक धाउनुभयो । तर, बैँकका कर्मचारीले खातावालालाई नै उपस्थित गराउनुपर्ने अडान राख्दै उहाँलाई रित्तो हात फर्काउने गरेका थिए ।

जितुले आफ्नी दिदीको मृत्यु भइसकेको जानकारी दिँदा समेत बैँक प्रशासनले पत्याउनुको साटो उल्टै प्रमाणका रूपमा खातावालालाई नै उपस्थित गराउन दबाब दिएपछि पीडित मुण्डाले यो कदम चालेका हुन् । करिब दुई महिनाअघि मृत्यु भई गाडिएकी बहिनीको कङ्काल चिहानबाट निकालेर उहाँले बैँकको गेटमा पुगेपछि स्थानीय प्रशासन र प्रहरीमा खैलाबैला मच्चिएको थियो ।

अशिक्षित र विपन्न वर्गका मुण्डाले मृत्युदर्ता र कानुनी हकवालाको प्रक्रियाका बारेमा अनभिज्ञ रहेका कारण कर्मचारीको व्यवहारबाट आजित भएर कङ्काल नै प्रमाणका रूपमा पेस गर्नुपरेको बताउनुभएको छ । घटनाको जानकारी पाउनासाथ पटना प्रहरी चौकीका अधिकारी घटनास्थल पुगेर जितुलाई सम्झाइबुझाई गरेका थिए ।

प्रहरीको हस्तक्षेपपछि बैँक प्रशासनले प्रक्रिया सहज बनाउने आश्वासन दिएको छ । उक्त कङ्काललाई पुनः धार्मिक विधिअनुसार अन्त्येष्टि गरिएको छ । यो घटनाले आधुनिक बैङ्किङ प्रणाली र कर्मचारीतन्त्रमा संवेदनाको खडेरी परेको भन्दै आलोचना भइरहेको छ ।