• १५ वैशाख २०८३, मङ्गलबार

बिरामी मृत्यु प्रकरण : अस्पतालको धारणा सार्वजनिक

blog

भेरी अस्पताल नेपालगन्ज । तस्बीरः गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, वैशाख १५ गते । भेरी अस्पताल नेपालगन्जले अस्पतालमा उपचाररत बिरामीको उपचारको क्रममा निधन भएपछि उत्पन्न परिस्थतिबारे लिखित धारणा सार्वजनिक गर्दै चिकित्सकमाथि मानसिक दबाब र असुरक्षाका कारण अस्पतालका केही सेवाहरू प्रभावित हुनसक्ने अवस्था सिर्जना भएको दाबी गरेको छ ।

अस्पताल प्रशासनले मङ्गलबार लिखित धारणा सार्वजनिक गर्दै नियन्त्रण बाहिरका परिस्थितिमा भएका घटनालाई अतिरञ्जित गरी चिकित्सक–बिरामी सम्बन्धमा आँच पुर्‍याउने तथा सामाजिक सद्भावमा खलल पार्नेजस्ता अवाञ्छित गतिविधिहरू नगर्न सबैमा अनुरोध गरेको छ । 

अस्पताल प्रशासनले सार्वजनिक गरेको लिखित धारणामा बाँकेको बैजनाथ–६, बाँके ६२ वर्षीया एक महिला पेट तथा छातीसम्बन्धी समस्या लिएर २०८३ वैशाख ६ गते अस्पतालमा भर्ना भएको छ । उहाँलाई ग्यास्ट्राइटिससहित दीर्घरोगहरूको समेत उपचार भइरहेको जनाएको छ । 

उपचारको क्रममा मुटुसम्बन्धी जटिलताको सम्भावना देखिएकाले कार्डियोलोजिस्टको निरन्तर निगरानीमा राखी इसिजी, इको तथा कार्डियाक इन्जाइम लगायतका आवश्यक परीक्षणहरू पटक–पटक गरिएको  अस्पतालले जनाएको छ । 

बिरामीको अवस्थालाई मध्यनजर गर्दै बहुविधागत सहकार्य गर्दै ग्यास्ट्रोलोजिस्ट तथा मनोरोग विशेषज्ञबाट समेत परामर्श लिइएको अस्पतालले जनाएको छ । यथासम्भव सबै स्थापित विधि र प्रक्रिया अनुसार उपचार गर्दा पनि रोगको स्पष्ट निदान हुन नसकेको अवस्थामा थप “क्रस ओपिनियन” का लागि  वैशाख ११ गते नै अन्यत्र रिफर गरिएको अस्पतालले जनाएको छ ।  

बिरामीको अवस्था केही सुधार देखिएपछि अस्पतालमै उपचार जारी राखिएकोमा वैशाख १३ गते अचानक बिरामीको अवस्था गम्भीर रूपमा बिग्रिन गई उहाँको दुःखद निधन हुन गएको अस्पताल प्रशासनले जनाएको छ ।

उपचारका क्रममा बिरामीको निधन भएपछि अस्पताल प्रशासन र बिरामी पक्षबिच छलफल भएको थियो । यसैगरी सोमबार अस्पताल प्रमुख, विभिन्न विभागीय प्रमुखहरू, बाँके क्षेत्र नं. ३ का सांसद खगेन्द्र सुनार तथा पूर्व राज्यमन्त्री दलबहादुर सुनारको उपस्थितिमा पुनः छलफल भएको थियो ।

छलफलमा चिकित्सकीय उपचारका सीमित्ता र नियन्त्रण बाहिरका परिस्थितिमा यस्ता घटना हुनसक्ने विषयमा बिरामी पक्षलाई स्पष्ट पार्ने प्रयास गरिएको अस्पतालले जनाएको छ । छलफलमा उपचार प्रक्रियामा कुनै नियतवश त्रुटि भएको भए त्यसको अनुसन्धान गर्ने सम्बन्धित निकायहरू विद्यमान रहेको र सो प्रक्रियामा जान बिरामी पक्ष स्वतन्त्र रहेको अस्पताल प्रशासनले जनाएको छ ।

 मङ्गलबार बिहान मृतकका आफन्त तथा आफूलाई पत्रकार बताउने केही व्यक्तिहरू अस्पताल प्रमुखको कार्यकक्षमा प्रवेश गरी मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीमाथि गालीगलौज, ज्यान मार्ने धम्की, हातपातको प्रयास तथा अभद्र व्यवहार गरेको अस्पतालले जनाएको छ । 

यसैगरी प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेमाथि पनि भौतिक आक्रमणको धम्की सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको घटनाले सम्पूर्ण स्वास्थ्यकर्मीको मनोबलमा गम्भीर असर परेको अस्पतालले दाबी गरेको छ । 

सामाजिक सञ्जालमा अस्पताल र स्वास्थ्यकर्मीविरुद्ध अशोभनीय आरोप, अनर्गल प्रचार तथा भौतिक आक्रमणका धम्कीहरू आउनु गम्भीर विषय भन्दै अस्पतालले उक्त घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कारबाही गर्न “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६” बमोजिम कानुनी प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।