कोकिला ढकाल
इलाम, वैशाख १५ गते । ‘स्वस्थ चिया, दिगो बजार, समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ आज ३० औँ राष्ट्रिय चिया दिवस मनाइँदै छ । विदेशी मुद्रा आर्जनको प्रमुख स्रोतमध्येको एक भए पनि नेपाली चिया क्षेत्रलाई सरकारले उपेक्षा गरेको किसानले गुनासो गरेका छन् ।
केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रविन राईले अर्थतन्त्रमा ठुलो योगदान पुर्याए पनि राज्यले चिया क्षेत्रको महत्त्व बुझ्न नसकेको बताउनुभयो । “अर्गानिक उत्पादनका लागि राज्यबाट कुनै सहयोग छैन, किसान र उद्योगी आफ्नै भरमा चलेका छन्,” उहाँले भन्नुभयो, “यसअघि चिया निर्यातमा दिइँदै आएको प्रतिकिलो पाँच रुपियाँ अनुदान (इन्सेन्टिभ) समेत सरकारले कटौती गरिदिएपछि चिया क्षेत्र थप निराश बनेको छ ।”
सूर्योदय अर्थोडक्स टी प्रोडुसर्स एसोसिएसनका महासचिव गोपाल कट्टेलले सरकारले हरियो पत्तीको समर्थन मूल्य तोकिदिए किसान र उद्योगी दुवैलाई फाइदा पुग्ने बताउनुभयो । वि.सं. १९२० मा इलामबाट सुरु भएको चिया खेतीले १६२ वर्ष पार गर्दा पनि सरकारले अहिलेसम्म हरियो पत्तीको मूल्य निर्धारण गरेको छैन ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्याङ्क अनुसार नेपालमा १५ हजार १३२ कृषक, १७० वटा टी स्टेट र १२० वटा चिया प्रशोधन केन्द्रमार्फत ६० हजारले रोजगारी पाएका छन् । आर्थिक वर्ष २०८१/८२ मा मात्रै एक करोड ५६ लाख किलो चिया निर्यात हुँदा चार अर्ब ५९ करोड रुपियाँ वैदेशिक मुद्रा आर्जन भएको थियो ।
यसैबिच, मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी ईश्वरकुमार हुमगाईँले चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म नौ लाख ४३ हजार ७९४ किलो चिया निकासी भएको जानकारी दिनुभयो । चियाको नयाँ सिजन सुरु भएकाले अब निर्यात अझै बढ्ने उहाँको भनाइ छ ।