• १५ वैशाख २०८३, मङ्गलबार

घरदैलोमै राहदानी र लाइसेन्स वितरण सुरु

blog

फाइल तस्बिर

काठमाडौँ, वैशाख १५ गते । सरकारले सुरु गरेको घरदैलोमै राहदानी वितरण सेवा हालसम्म १४ जिल्लामा विस्तार भएको छ । हुलाक सेवा विभागका अनुसार अहिलेसम्म ३११ वटा राहदानी सम्बन्धित सेवाग्राहीको घरमै पुगेर वितरण गरिएको छ ।

विभागले गुल्मी, डडेलधुरा, झापा, सिन्धुपाल्चोक, कालीकोट, मकवानपुर, बझाङ, कास्की, मोरङ, धनकुटा र बैतडी लगायतका जिल्लासँग सम्झौता गरी सेवा विस्तार गरेको छ । अन्य जिल्लामा पनि जिल्ला प्रशासन कार्यालयबाट राहदानी प्राप्त भएपछि वितरण गर्ने प्रक्रिया अघि बढाइएको छ । अहिले सबै जिल्ला प्रशासन कार्यालयले राहदानी बनाउन आउने सेवाग्राहीको ठेगाना सङ्कलन गरिरहेका छन् ।

सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरणतर्फ पनि उल्लेखनीय प्रगति भएको विभागले जनाएको छ । २०८३ वैशाख १५ गतेसम्म हुलाकमार्फत दुई लाख ५६ हजार १२६ वटा लाइसेन्स सम्बन्धित यातायात कार्यालयमा पठाइसकिएको छ । मोरङ र कास्कीमा भने यातायात कार्यालयसँगको समन्वयमा लाइसेन्स सिधै घरमै पुर्‍याउन थालिएको छ ।

हुलाक सेवालाई आधुनिकीकरण गरी ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्ने सरकारको १०० दिने कार्यसूची अनुसार अन्य सेवा पनि थपिएका छन् । विभागले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग नमुना ढुवानी र नेपाल टेलिकमसँग सिमकार्ड घरमै पुर्‍याउने विषयमा प्राविधिक तयारी गरिरहेको छ ।

यसै गरी त्रिभुवन विश्वविद्यालयसँग प्रमाणपत्र ढुवानीका लागि छलफल भइरहेको छ भने मध्यपश्चिम विश्वविद्यालयसँग प्रश्नपत्र, उत्तरपुस्तिका र प्रमाणपत्र ढुवानीको काम सुरु भइसकेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. बिक्रम तिमिल्सिनाले हुलाकको सेवालाई प्रभावकारी बनाउन र निकायबिच सहकार्य गर्न निर्देशन दिनुभएको छ ।