• १५ वैशाख २०८३, मङ्गलबार

भानुजन माविमा भर्ना हुन प्रवेश परीक्षा

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, वैशाख १५ गते । ताप्लेजुङको सदरमुकाम फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयले नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना गर्न प्रवेश परीक्षा लिएको छ । जिल्लाका अधिकांश सामुदायिक विद्यालय विद्यार्थी अभावमा घरदैलो अभियान सञ्चालन गरिरहेका बेला भानुजन माविमा भने भर्ना हुन चाहने विद्यार्थीको भिड लागेको छ ।

नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पढाइ हुने यस विद्यालयले मङ्गलवार कक्षा १ देखि ९ सम्मका विद्यार्थीका लागि पहिलो चरणको प्रवेश परीक्षा सञ्चालन गरेको हो । विद्यालयका सहायक प्रधानाध्यापक राजमणि प्याकुरेलका अनुसार प्रवेश परीक्षामा २५० जनाभन्दा बढी विद्यार्थी सहभागी भएका छन् ।

“प्रवेश परीक्षामा सहभागी हुनेमध्ये अधिकांश निजी विद्यालय (बोर्डिङ) बाट आएका विद्यार्थी छन्,” प्याकुरेलले भन्नुभयो, “बोर्डिङबाट आएका विद्यार्थीले अङ्ग्रेजी माध्यममा पढ्नका लागि प्रवेश परीक्षा दिएका हुन् ।”

भानुजन मावि जिल्लाकै सबैभन्दा बढी विद्यार्थी अध्ययन गर्ने सामुदायिक विद्यालय हो । यहाँ बर्सेनि दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहन्छन् । यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा २०० विद्यार्थी सहभागी भए पनि अझै एक हजार ८०० विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।

नयाँ शैक्षिक सत्र २०८३ मा थप ३०० विद्यार्थी भर्ना हुने अनुमान विद्यालयको छ । यता सरकारले वैशाख १५ गतेदेखि भर्ना अभियान सञ्चालन गरी २१ गतेदेखि पठनपाठन सुरु गर्ने निर्णय गरेको छ । सोही निर्णयअनुसार प्रवेश परीक्षा उत्तीर्ण गर्ने विद्यार्थीलाई भर्ना गरिने प्रधानाध्यापक किशोरकुमार राईले जानकारी दिनुभयो ।

ताप्लेजुङमा ३४३ वटा सामुदायिक र २६ वटा निजी विद्यालय सञ्चालनमा छन् । केही सामुदायिक विद्यालयले भर्नाका लागि तथ्याङ्क सङ्कलन र अभिभावक भेटघाट गरिरहेका छन् भने निजी विद्यालयहरूले वैशाखको पहिलो सातादेखि नै पठनपाठन सुरु गरिसकेका छन् ।