राममणि दाहाल
मकवानपुर, वैशाख १५ गते । मकवानपुरको बागमती गाउँपालिकामा सञ्चालन हुने आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । बागमती–४ स्थित सहिद स्मृति रङ्गशालामा यही वैशाख १७ गतेदेखि हुने प्रतियोगिताको खेल तालिका मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बागमती खेलकुद विकास समिति र सर्लाहीको बागमती युथ क्लब भिड्ने भएका छन् ।
आयोजक बागमती खेलकुद विकास समितिका अध्यक्ष रहर सिं थिङले शुक्रबार त्रिभुवन आर्मी क्लब काठमाडौँ र बाराको नव जनजागृति क्लब, १९ गते विभागीय सशस्त्र प्रहरी बलको एपीएफ र चित्लाङ एफसी, काठमाडौँ, २० गते बाई पाएका ललितपुरको चर्च ब्वाइजले आयोजक र बागमती युथ क्लबसँग प्रतिस्पर्धा गर्ने जानकारी दिनुभयो ।
यस्तै वैशाख २१ गते ललितपुरको फ्रेन्ड्स क्लब र प्लानिङ ब्वाइज युनाइटेड, २२ गते बाई पाएको मछिन्द्र क्लब, काठमाडौँले एपीएफ र चित्लाङ बीचको विजेतासँग खेल्नेछ । प्रतियोगिताको सेमिफाइनल खेल २३ गते र २४ गते तथा फाइनल खेल वैशाख २६ गते हुनेछ ।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउँने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख एक हजार, विधागत उत्कृष्टहरुले २५–२५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले १०–१० हजार रुपियाँ पुरस्कार प्राप्त गर्ने छन् ।
पत्रकार सम्मेलनमा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जी, वडा ३ का वडाध्यक्ष कमान सिं पाख्रिन, एन्फा मकवानपुरका वरिष्ठ उपाध्यक्ष अरुण बल र बागमती खेलकुद विकास समितिका उपाध्यक्ष मुक्ति लामालगायतको उपस्थिति रहेको थियो ।