सिराज खान
नेपालगन्ज, वैशाख १५ गते । नेपालगन्ज विमानस्थलको अत्याधुनिक नवनिर्मित नयाँ टर्मिनल भवनलाई मङ्गलबारबाट सञ्चालनमा ल्याइएको छ । सो भवनको निर्माण कार्य गत असोज महिनाको अन्तिममै सम्पन्न भए पनि हाल आएर सञ्चालनमा ल्याइएको हो ।
विमानस्थलको नयाँ टर्मिनल भवनको आगमन कक्षलाई मङ्गलबारबाट सञ्चालनमा ल्याइएको र बुधबारदेखि प्रस्थान कक्षलाई पनि सञ्चालन गरिने नागरिक उड्डयन कार्यालय नेपालगन्जका प्रमुख सन्तोष पोखरेलले बताउनुभयो ।
उहाँले नयाँ टर्मिनल भवनको सञ्चालनसँगै नागरिक उड्डयन प्राधिकरण नेपालगन्जले मङ्गलबारबाटै यात्रुहरूका लागि निःशुल्क सटल बस सेवा पनि सञ्चालनमा ल्याएको जनाउनुभयो । सो विमानस्थलको नयाँ टर्मिनल भवन निर्माणका लागि शर्मा एन्ड कम्पनीले २०७९ साल पुस १ गते सम्झौता गरेर २०८२ साल पुस सम्ममा तीन अर्ब नौ करोड रुपियाँमा निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरेको थियो । तर, २०८२ साल असोजमै निर्माण पूरा गरिएको थियो ।
दुई तलासहितको अत्याधुनिक टर्मिनल भवनलाई अन्तर्राष्ट्रिय उडान गर्न सकिने गरी पूर्वाधारहरु निर्माण गरिएको छ भने अध्यायगमन र सुरक्षाका लागि कार्यालय भवनहरू पनि तयार पारिएका छन् । भवनको अन्डरग्राउड तलामा सर्वसाधारणका लागि विभिन्न पसलहरू समेत राखिने गरी भवन तयार गरिएको छ ।
सो अत्याधुनिक टर्मिनल भवनमा मापदण्ड अनुसार भन्सार, अध्यागमन, क्वारेन्टाइनसहित आन्तरिक र अन्तर्राष्ट्रिय दुवै किसिमका हवाई उडानका लागि आवश्यक पूर्वाधार निर्माण गरिएको जनाइएको छ ।