राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा), वैशाख १५ गते । स्याङ्जाको वालिङमा रहेको पायोनिअर एजुकेशन एकेडेमीले मावि गण्डकी प्रदेशमा नै उत्कृष्ट भएको छ । प्राविधिक शिक्षा अन्तर्गतको हेल्थ असिस्टेन्टमा विद्यालय गण्डकी प्रदेशमा नै उत्कृष्ट भएको हो ।
गएको भदौमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले सञ्चालन गरेको परीक्षामा ३२ जनामध्ये ३१ जना उत्तीर्ण भएका विद्यालयका प्रधानाध्यापक मेघराज गैह्रेले जानकारी दिनुभयो ।
प्रतिशतका आधारमा झण्डै ९७ प्रतिशत उत्तीर्ण भएका उहाँको भनाइ छ । उत्कृष्ट नतिजाले शैक्षिक गुणस्तर, वातावरण र प्राविधिक शिक्षाप्रति विद्यालयको मेहनतलाई प्रमाणित गरेको गैह्रेले बताउनुभयो ।
पछिल्लो समय प्राविधिक शिक्षातर्फ विद्यार्थीका आकर्षण बढिरहेको विद्यालका प्राविधिक शिक्षा कार्यक्रम प्रमुख हिमनिधि पंगेनीले जानकारी दिनुभयो । वि.सं. २०४४ सालमा स्थापना भएको पायोनिअज एजुकेशन एकेडेमीले वि.सं. २०५४ सालदेखि व्यावसायिक तथा प्राविधिक शिक्षाको विधिवत् सुरु गरेको थियो ।
समयसापेक्ष आवश्यकताअनुसार शैक्षिक कार्यक्रम विस्तार गर्दैआएको संस्थाले गत वर्षदेखि हेल्थ असिस्टेन्ट (एचए) को कक्षा सञ्चालनमा ल्याएको कार्यक्रम प्रमुख पंगेनीले बताउनुभयो । पछिल्लो नतिजाअनुसार विद्यालय गण्डकी प्रदेशमा पहिलो र नेपालमा नै दोस्रो भएको उहाँको दावी छ ।
स्याङ्जा जिल्लामा नै पहिलो पटक प्राविधिक शिक्षा पढाउन सुरु गरेको झण्डै ३० बर्ष भएको विद्यालयले जनाएको छ । यस क्षेत्रको विद्यार्थी तथा अभिभावकहरुको मागलाई मध्यनजर गरेर पछिल्लो समय हेल्थ असिस्टेन्टको पढाइ सुरु गरेको प्रधानाध्यापक गैह्रेले जानकारी दिनुभयो । प्राविधिक शिक्षातर्फ स्याङ्जासहित पाल्पा, गुल्मी र पर्वत जिल्लाका विद्यार्थीले सो विद्यालयमा प्राविधिक शिक्षा पढ्दैआएका छन् ।