• १४ वैशाख २०८३, सोमबार

मुस्ताङमा यार्सा सङ्कलन सुरु

blog

यार्सागुम्बा । फाइल तस्बिर

मुस्ताङ, वैशाख १४ गते । मुस्ताङका विभिन्न स्थानमा यार्सागुम्बा सङ्कलन सुरु भएको छ ।

यहाँको तल्लो क्षेत्र थासाङ गाउँपालिका अन्तर्गत कुञ्जो, कोवाङ र टुकुचे संरक्षण क्षेत्र व्यवस्थापन समिति अन्तर्गतका उच्च लेकमा यार्सागुम्बा सङ्कलन सुरु भएको हो ।

यार्सागुम्बा समून्द्री सहतको तीन हजारदेखि छ हजार मिटरको उचाइमा पाइने जडीबुटी हो । यहाँका वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका आधा दर्जनभन्दा बढी स्थानमा हरेक वर्ष वैशाखदेखि असार मसान्तसम्म यार्सा सङ्कलन हुन्छ ।

यार्सा सङ्कलनका लागि जिल्लाका स्थानीय, जिल्लामा अस्थायी बसोवास गरेका व्यक्ति र जिल्ला बाहिरबाट उल्लेख्य व्यक्तिहरू लेक पुग्छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गतका संरक्षण क्षेत्र व्यवस्थापन समिति (सिएमसी)ले शुल्क लिएर यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिने गरेको एक्याप जोमसोमका प्राकृतिक स्रोत सरक्षण सहायक दीपक ओलीले जानकारी दिनुभयो ।

कार्यालयहरूले यार्सा सङ्कलनको अवधिभर कार्यविधि र मापदण्ड निर्धारण गर्छ । सङ्कलनका क्रममा हुनसक्ने जोखिम, चोरी सिकारी, वन डढेलो, अवान्छित र अपराधजन्य घटना रोकथाम गर्ने सर्त उल्लेख गरी अनुमति दिने चलन छ ।

थासाङ गाउँपालिकाको कोवाङ सिएमसीले सर्वसाधारण नागरिकलाई यार्सा सङ्कलन पूर्जी वितरण गरेको समितिका अध्यक्ष जीवन थकालीले जानकारी दिनुभयो । उहाँका अनुुसार स्थानीयलाई  तीन हजार ५०० र जिल्ला बाहिरबाट आउनेलाई सात हजार शुल्क उठाउने गरिएको छ ।

कोवाङ समितिले मुलिखर्क, मुली, पड्के, ठुलो सरे र सानुसरेलगायतका लेकमा यार्सा सङ्कलन फुकुवा गरेको छ । समितिको लेकका लागि हालसम्म नौ स्थानीयसहित ८७ जनाले अनुमति लिएका छन् ।

थासाङको बतासेमा पनि सङ्कलन फुकुवा भइसकेको छ । उक्त लेकका लागि ४५ जनाले अनुमति लिएका छन् । टुकुचे समितिले स्थानीयलाई एक हजार रुपियाँ र जिल्ला बाहिरका व्यक्तिलाई तीन हजार शुल्क तोकेको छ ।

थासाङको कुञ्जो लेकमा पनि यार्सा सङ्कलन सुरु भइसकेको छ । घरपझोङ गाउँपालिकास्थित संरक्षण व्यवस्थापन समितिले वैशाख २५ गतेदेखि यार्सागुम्बा सङ्कलन अनुमति दिने तयारी गरेकोसमितिका सचिव पवन गुरुङले जानकारी दिनुभयो ।

जोमसोम समितिले जोमसोम, ठिनी र ढुम्बा गाउँका स्थानीयलाई यार्सा सङ्कलनका लागि चार हजार र  सोही क्षेत्रमा अस्थायी बसोवास गरी घरखेत कमाएर बसेका व्यक्तिलाई प्रतिव्यक्ति छ हजार शुल्क तोकेको छ ।

वारागुङ मुक्तिक्षेत्र-१ को मुक्तिनाथ संरक्षण क्षेत्र व्यवस्थापन समितिले आगामी जेठ २ गतेदेखि यार्सा सङ्कलन फुकुवा गर्ने तयारी गरेको छ ।

मुक्तिनाथ संरक्षण क्षेत्र व्यवस्थापन समितिले नेर झोङ, लिरी, रिसम्बा र छिमीघ्वा लगायतका लेकहरूमा यार्सा सङ्कलन गर्ने अनुमति दिने गरेको समितिका सचिव लाक्पाटसी गुरुङले जानकारी दिनुभयो ।

यार्सा सङ्कलन गर्ने व्यक्ति वा व्यापारीले जिल्ला बाहिर यार्सा निकासी गर्नुपरेमा तीन हजार एक सय रुपियाँ राजश्व बुझाउनु पर्ने नियम छ ।  रासस