भक्तपुर, वैशाख १३ गते । भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा बनाइएका ७० प्रतिशत घर, टहरा तथा संरचना आज भत्काइएको छ । आज बिहान १०ः०० बजेदेखि काठमाडौँ महानगरपालिकाबाट आएका सात वटा डोजरको सहायताले सुकुमवासी बस्तीका ७० प्रतिशत संरचना भत्काइएको हो ।
पछि असिनापानी परेर बिथोलिएकाले आजको संरचना भत्काउने कार्यलाई स्थगित गर्नुपरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनभयो । आज भत्काउन बाँकी भएका संरचनालाई भोलि (सोमबार) भत्काइने जानकारी दिँदै उहॉँले हिजोसम्म ८० प्रतिशतले सबै सामान सारेकाले आज बस्तीका बाँकी बासिन्दाले पनि सबै सामान सारेर सहज गरेका उल्लेख गर्नुभयो ।
आजका लागि सुकुमवासी बस्तीमा भक्तपुरबाट खटिएका एक हजार ४०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी गरी दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । सोमबारसम्म सबै संरचना भत्काइने उहाँले बतउनुभयो । यहाँबाट बस्ती छाडेको वास्तविक सुकुमवासीलाई दशरथ रङ्गशालामा पठाइएको बताउँदै उहाँ त्यहाँबाट उहाहरूलाई खान र बस्नका लागि होल्डिङ सेन्टरमा पठाइएको उल्लेख गर्नुभयो । रासस