काठमाडौँ, वैशाख १३ गते । पत्रकारिताको मर्म अभिव्यक्त गर्ने ‘एउटा तस्बिरले हजार शब्द बोल्छ’ भन्ने मान्यता छ । त्यही मान्यता शिरोपर गर्दै गोरखापत्रमा ९९ वर्षअघि आजकै दिन गोरखापत्र दैनिकमा आममहिलाको तस्बिर छापिएको थियो । सोही दिनलाई स्मरण गर्दै हरेक वर्ष आज (वैशाख १३ गते) कै दिन राष्ट्रिय फोटो पत्रकारिता दिवस नेपालमा मनाइँदै छ ।
विक्रम संवत् १९८४ वैशाख १३ गते वीरगन्जकी १२ वर्षीय सूर्यमती श्रेष्ठिनीको तस्बिर गोरखापत्रमा पहिलो आममहिलाका रूपमा छापिएको थियो । कामधेनु चर्खामा धागो कातिरहेको उक्त तस्बिरै नेपाली पत्रकारिताको इतिहासमा पहिलो मानक तस्बिर मानिएको छ । त्यसअघि विसं १९५८ वैशाख २४ गते पहिलो पटक गोरखापत्र प्रकाशन भएको थियो । त्यसको करिब २६ वर्षपछि मात्र आमनागरिकको जीवन झल्कने अर्थपूर्ण तस्बिर छापिएको इतिहासका रूपमा वैशाख १३ गतेलाई स्मरण गरिएको छ ।
त्यसअघि राजपरिवारसँग सम्बन्धित तस्बिर नछापिएका हैनन् । तर दुनियाँ देखाउने तस्बिर सूर्यमती श्रेष्ठिनीकै रहेको मानक मानिएको ७२ वर्षीय फोटो पत्रकार नातिकाजी महर्जन बताउनुहुन्छ । उहाँ गोरखापत्रको पुराना फोटो पत्रकार हुनुहुन्छ । उहाँका अनुसार सूर्यमती श्रेष्ठिनीको उक्त तस्बिर सहज रूपमा छापिएको भने थिएन । उहाँले भन्नुभयो, “प्रविधिबिनाको पुरानो प्रेसमा तस्बिर छाप्नु भनेको ढुङ्गाको चिउरा चपाउनुसरह हुन्थ्यो, सूर्यमतीको तस्बिर पनि जिङ्क बोर्डमा तस्बिर अङ्कन गरेर श्यामश्वेत छापिएको थियो ।” तस्बिरको मुनि आफ्ना कपासको बगैँचामा ‘श्रीचन्द्र कामधेनु चर्खाद्वारा धागो कातिरहेकी, वर्ष १२ को, वीरगन्ज बस्ने सूर्यमती श्रेष्ठिनी’ भनेर स्पष्ट क्याप्सन लेखिएको थियो ।
तस्बिर आफैँ बोल्दैन, बोलाउनु पर्छ भन्ने भावसहित पुराना दिनमा त्यस्ता मानक तस्बिर खिच्नु पर्छ भन्ने ज्ञान फोटो पत्रकारले उक्त तस्बिरमार्फतै सिकेको महर्जनको ठहर छ । उहाँले थप्नुभयो, “धेरै ध्यान दिएर अर्थपूर्ण तस्बिर खिच्नु, त्यसपछि त्यसलाई अँध्यारो कोठामा बसेर हात कमाउँदै फ्रेममा लोड गर्दै केमिकल हालेर धुलाउनु र प्रभाव पर्ने गरी पत्रिकामा छपाउनुपथ्र्याे ।” एक सेन्टिमिटरको तस्बिर हुँदै रिलमार्फत ठुलो फोटो धुलाउन मिल्ने भएको ५० वर्षअघिका ती दिनहरू मूलधारको पत्रिकामा काम गर्ने फोटो पत्रकारका लागि निकै चुनौतीपूर्ण रहेको महर्जन स्मरण गर्नुहुन्छ ।
धुलाउने समयमा रसायन बढी भयो भने फोटो विरूप हुन्थ्यो । राजाको शासन भएकाले तस्बिर बिग्रियो र छापिन सकेन वा नराम्रो छापियो भने फोटो पत्रकारको जागिर तत्कालै जान सक्ने जोखिम उस्तै थियो । कतिपय अवस्थामा राजदरबारकै मानिसले दिएको फोटो धुलाएर छाप्नुपथ्र्यो ।
आधुनिकतासँगै विश्वसनीयता कम
फोटो खिच्ने प्रविधिसँगै हातहातमा मोबाइल आएपछि फोटो पत्रकारिताको विश्वसनीयता कम हुँदै गएको महसुस आमनागरिक र स्वयं फोटो पत्रकारले गर्नुभएको छ । पत्रकारिताको सैद्धान्तिक मर्म बोकेको तस्बिरमाथि प्रविधि, सामाजिक सञ्जाल र कम मेहनत गर्ने तीनखालको प्रवृत्तिले खेलवाड भइरहेको वरिष्ठ पत्रकार गोपाल चित्रकार औँल्याउनुहुन्छ । उहाँका अनुसार पत्रकारिताको जुन मर्म छ, त्यस अनुसार तस्बिर खिच्ने चलन कम हुँदै गएको छ ।
खिचेको भए पनि पत्रिका वा आमसञ्चार माध्यमबाट समाजमा सन्देश छर्नुपर्ने त्यस्ता तस्बिरको गलत प्रयोग भइरहेको अनुभव उहाँले गर्नुभएको छ । उहाँ सुनाउनुहुन्छ, “फोटो पत्रकारमा पनि पहिलेको जस्तो गम्भीरता छैन, उता सामाजिक सञ्जालमा जथाभावी फोटो आउन थालेको छ भने कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोगले भ्रामक तस्बिर बनाएर प्रेषण गर्दा चुनौती थपिएको छ ।”
बजारमा तालिमप्राप्त फोटो पत्रकारको कमी हुनु र एआईले असली जस्तै बनाइदिएका तस्बिर छापिन थाल्नुले फोटो पत्रकारको पेसा धरापमा पर्दै गएको उहाँले बताउनुभयो । फोटो पत्रकार महर्जन पनि अर्थपूर्ण र प्रभावकारी तस्बिर खिच्ने र पाठक, दर्शकमाझ पस्कनेभन्दा सामाजिक सञ्जाल र कमाउनेतिर फोटो पत्रकार लागेकोमा खिन्नता व्यक्त गर्नुहुन्छ । डिजिटल युगले जति सहजता दियो, फोटो पत्रकारिताको संवेदनशीलता कम हुँदै गएको उहाँको टिप्पणी छ ।
फोटो पत्रकार राजेन्द्र चित्रकारका अनुसार फोटो पत्रकारिताको मर्म बोल्ने सूर्यमती श्रेष्ठिनीको तस्बिर बोलेझैँ बोल्ने तस्बिरको खडेरी आधुनिक पत्रकारितामा पर्दै गएको छ । प्रविधिले फोटो पत्रकारलाई सहज र छिटो बनाएसँगै उनीहरूको आर्थिक उपार्जनमा भने सघाउ पुगेको उहाँ दाबी गर्नुहुन्छ । सञ्चार माध्यममा जागिर नभए पनि पेसागत मर्यादा बुझेका पत्रकारले स्वतन्त्र रूपमै पनि फोटो, भिडियो खिचेर राम्रो कमाउन सक्ने अवस्था सिर्जना हुनु आधुनिक युगको सुन्दर पक्ष भएको उहाँको धारणा छ ।