गोरखापत्र अनलाइन
धनगढी, जेठ ३ गते । नेकपा (एमाले) ले आइतबार धनगढीमा रक्तदान र विचार गोष्ठी सम्पन्न गरेको छ । ३३औं मदनआश्रीत स्मृति दिवसको अवसरमा एमाले धनगढी उपमहानगरपालिका कमिटीले रक्तदान र सुदूरपश्चिम प्रदेश कमिटीले नेपालको लोकतान्त्रिक आन्दोलनको मदन-आश्रीतको भूमिका विषयक विचार गोष्ठी सम्पन्न गरेको हो।
नगर कमिटीको आयोजनामा धनगढीको पार्कमोडमा गरिएको कार्यक्रममा रक्तदान कार्यक्रम सक्रियतापूर्वक सम्पन्न भएको नगर कमिटी अध्यक्ष अम्बिका बिष्टले बताउनुभयो । उहाँकाअनुसार रक्तदानमा २५ पिन्ट रगत संकलन भएको छ ।
यस्तै, एमाले सुदूरपश्चिमका अध्यक्ष कृष्णप्रसाद जैशीको अध्यक्षतामा धनगढीस्थित पार्टी कार्यालयमा लोकतान्त्रिक आन्दोलनमा मदन(आश्रीतको भूमिका विषयक विचार गोष्ठीमा जननेता मदन भण्डारी र जीवराम आश्रीतको योगदानको स्मरण र चर्चा गरिएको थियो ।
एमालेका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम संयोजक समेत रहेको प्रतिनिधि सभा सदस्य गणेशसिंह ठगुन्ना प्रमुख वक्ता रहेको कार्यक्रममा विभिन्न पार्टीका नेताहरू समेत सहभागी हुनुहुन्थ्यो ।
उहाँहरुले जननेता भण्डारीले नेपालको लोकतान्त्रिक व्यवस्था र परिवर्तनका निम्ति पुगाएको योगदानको उचित कदर गर्दै सोही मार्गमा मुलुकलाई अगाडि बढाउनु अहिलेको मुख्य दायित्व भएको उल्लेख गर्नुभयो । कार्यक्रम एमालेका सुदूरपश्चिम प्रदेश सचिव रणबहादुर चन्दले सञ्चालन गर्नुभएको थियो । सो अवसरमा मदन भण्डारी फाउन्डेसन कैलालीको भित्तेपात्रो समेत विमोचन गरिएको थियो ।